जनकपुर ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। यसअघि पनि ठाकुरले देउवासँग पटकपटक भेट गरेका छन्।
देउवालाई भेट्न लोसपाका नेता तथा सांसद लक्ष्मण लाल कर्ण पनि ठाकुरसँग बालुबटार पुगेका थिए। लोसपाले राखेका माग सम्बोधन गराउन आफूहरूले देउवालाई भेटेको कर्णंले बताए। ‘
प्रधानमन्त्री ज्युले चालु अधिवेशनमै नागरिकता विधेयक पेश गर्छौ भन्नु भएको छ। यसको जिम्मा कानुनमन्त्रीलाई दिएका छौं भन्नुभएको छ,’ भेटपछि कर्णले भने, ‘मुद्दा फिर्ताबारे गृहसचिवलाई यस विषयमा गृहकार्य गर्न जिम्मा दिएका छौं भन्नुभएको छ।’
गत जेठ २४ को भेटमा भने ठाकुरले देउवालाई ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रको पहिलो बुँदामा नागरिकताको विषय उठाइएको छ।
ज्ञापन पत्रमा संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकताको प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी कायम कानुनी व्यवस्थालाई निरन्तरता दिन माग गरिएको छ।
जनसंख्याका आधारमा स्थानीय निकाय, प्रदेश र संघीय संसद्मा प्रतिनिधित्वको व्यवस्था गर्ने र तीनै तहको सरकारद्वारा जनघनत्वका आधारमा समतामूलक बजेट वितरणको सिद्धान्त लागु गर्नुपर्ने माग गरिएको छ।
यसैगरी रेशम चौधरीको रिहाइ हुनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, विगतमा मधेसी मोर्चासँग गरिएको सम्झौता लागु हुनुपर्ने, भूमि वितरणसम्बन्धी कार्यक्रम लागु गर्दा भूमिहीन मधेसी, थारू, जनजाति आदिवासी, दलित, मुस्लिम समुदायलाई प्राथमिकतामा राखी वितरण गर्नुपर्ने, हालसम्म जग्गाधनी प्रमाणपत्र पुर्जा नपाएकाहरूलाई पुर्जा उपलब्ध गराउनुपर्ने माग राखिएको छ।
यसैगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, महँगी, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायत माग राखिएका छन्। संविधान संशोधनको विषयलाई लोसपाले यसपटक पनि जोडतोडले उठाएको छ। लोसपाको यो माग पुरानै हो।
