जनकपुर ।
तीनजना भारतीय नागरिकलाई लिफ्ट दिँदा कैलालीमा एक नेपाली लुटिएका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुटेरको समूहले कु टपीटसहित लुटपाट गरेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसारसोमबार बिहान करिब १० बजे भएको घटनाको जानकारी प्रहरीलाई अपरान्ह १ः३० बजेमात्रै आएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र लुटेरा समूहको खोजी भइरहेको बताएका छन् ।
यसरी भयो घटना
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसार वेदकोट नगरपालिका ३, कञ्चनपुरका ३७ वर्षीय भण्डारी डडेलधुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । घरबाट उनी आफ्नो सुजुकी कम्पनीको सिल्भर रङको सोलेरियो कार लिएर कार्यालय जाँदै थिए ।
कार्यालय जाने क्रममा बिहान कञ्चनपुरको छमनचौराहमा चिया खाने क्रममा तीनजना भारतीयजस्ता देखिने मानिसहरु भेटिए । उनीहरुले आफूहरु पनि उतै खानीडाँडामा जान लागेको भन्दै खानीडाँडासम्म लिफ्ट दिन आग्रह गरे । त्यसवापत कारमा इन्धन भरिदिने बताए ।
आफू पनि उतै जाने भएकाले लिफ्ट दिँदा गाडीमा पेट्रोल हालिदिने भएपछि लोकेन्द्रसिंहले तीनजना भारतीय मूलका जस्ता देखिने व्यक्तिहरुलाई लिफ्ट दिए । लिफ्ट दिएर डडेलधुरातर्फ जाने क्रममा कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको एक रमणीय स्थानमा पुगेपछि उनीहरुले फोटो खिच्ने बताए । फोटो खिच्ने भनेपछि लोकेन्द्रले कार रोके र आफू पनि फोटो खिच्न थाले ।
सोही क्रममा लोकेन्द्रको साथमा रहेको कारको साँचो एक व्यक्तिले खोसे । सोही क्रममा लोकेन्द्र र भारतीय नागरिकबीच धकेलाधकेल समेत भयो । लुटेरा समूहले चक्कुले लोकेन्द्रको हातमा आक्रमण गरे ।
त्यसपछि एक लुटेराले लोकेन्द्रको टाउकोमा ढुङ्गाले प्रहार गरे । टाउकोमा ढुङ्गा प्रहार भएपछि उनी बेहोसजस्तै भए । सोही समयमा लुटेरा समूहले उनको साथमा रहेको मोबाइल र पर्स र नगद करिब ५ हजार रुपैयाँ समेत लुटी गम्छाले हात र मुख बाँधेर भिरबाट खसालिदिए । अनि लोकेन्द्रको कारसमेत लिएर उनीहरु गए ।
बिहान करिब १० बजे लुटपाट भएपनि प्रहरीलाई भने अपरान्ह १ः३० बजे मात्रै जानकारी आयो । भीरबाट खसालिएका लोकेन्द्र घस्रिदै सडकसम्म आएपछि अन्य व्यक्तिहरुले घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ भने लुटेरा समूहको खोजी भइरहेको छ ।
डिएसपी रबिन्द्रराज पाण्डेयका अनुसार यतिबेला आसपासमा रहेको सिसिटीभी फुटेजको अध्ययन गरी लुटेरा समूहको खोजी गर्ने काम भइरहेको छ । लुटेरा समूहले लगेका कारको खोजीपछि लुटेरा समूहको पहिचान र पक्राउमा सहयोग पुग्ने भन्दै अहिले कैलाली र कञ्चनपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।