जनकपुर ।
एक व्यक्तिालाई दोहोरो नागरिकताको लागि सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सोही वडा सचिवको नाममा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेशकुमार ठाकुर र सचिव माधव रायको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
अदालतले दाेहाेरो नागरिकताको लागि सिफारिस दिएको अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार भएका छन्।
उनीहरुले मुखियापट्टी मुसहरनिया गाउँपालिको तुलसियाही जब्दीबाट नागरिकता प्राप्त गरिसकेका आनन्द मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका–८ बाट नागरिकताको लागि सिफारिस गरेका थिए।
दोहोरो नागरिकता लिएका आनन्द असारको पहिलो सातामै पक्राउ परिसकेका छन्। पक्राउ परेका आनन्दलाई प्रहरीले अदालतबाट म्याद थप गराइ अनुसन्धान गरिरहेको छ।
प्रहरीले अनुसन्धानको क्रममा उनीसँग दुईवटा नेपाली नगरिकता र भारतीय मतदाता परिचयपत्र समेत फेला पारेको छ। उनले पहिलो नागरिकता २०७० साल जेष्ठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त गरेका थिए भने दोस्रो ०७८ मंसिर १७ मा लिएका थिए।
उनले लिएको नागरिकतामा आफ्नो नाम, बुवाको नाम, जन्ममिति र स्थान पनि फरक देखिएको छ। उनले प्राप्त गरेको पहिलो नागरिकतामा आफ्नो आनन्द मिश्र बुवाको नाम पवन मिश्र रहेको छ। दोस्रो नागरिकतामा आफ्नो नाम आनन्द मोहन शरण र बुवाको नाम देवशरण उल्लेख भएको छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट लिएको दुईवटै नागरिकतामा फोटो आनन्दकै रहेको छ।
भारतीय मतदाता नामावली र उनले बनाएको मतदाता परिचयपत्रमा आफ्नो नाम भवेश मिश्र र बुवाको नाम पवन मिश्र रहेको छ। मिश्रले प्राप्त गरेको दुईवटै नेपाली नागरिकता वंशजको अधारमा रहेको छ।
पूर्व वडाध्यक्ष ठाकुर ०७४ सालको स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
अघिल्लो निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका उनी पराजित भएका थिए। उनले १४७ मत प्राप्त गरी छैठौं स्थानमा रहेका थिए।
सो वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएका दिनेश कुमार सिंह ९०७ मत ल्याएर निर्वाचित भएका थिए।