जनकपुर ।
मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
आइतबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।
मकवानपुरको बागमती–९ मन्थलीबाट जन्ती बोकेर सिन्धुली जाँदै गरेको ना ६ त ८०७३ नम्बर ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अनियन्त्रित भई पल्टिएको ट्रयाक्टर उनीमाथि परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटना हुँदा ट्याक्टरमा सवार २६ जना घाइते भएको उनले बताए । दुर्घटनामा घाइते भएका मध्ये ७ जना गम्भीर रहेको र उनीहरुको हेटौंडास्थित ३ वटा अस्पतालमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित हेटौंडा अस्पताल, मकवानपुर सरकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
