जनकपुर ।
यति एअरलाइन्सले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा सुरु गर्ने भएको छ ।
कम्पनीले आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न गरी आन्तरिक उडानमा यो मनोरञ्जन सेवा सुरु गर्न लागेको हो ।
सो बारे जानकारी दिँदै एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताए ।
इन्फ्लाइट मनोरञ्जनका लागि बायुयानभित्र रहेको डिभाईसमा कनेक्ट गरि हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिने उनले बताए ।
‘हामी विश्वस्त छौं, यति एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ’ बर्तौलाले बताए ।
यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु समेत प्रदान गरिनेछ ।
यस्तो योजना बनाएको कम्पनीले यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्नेगरी आवश्यक तयारी र परिक्षण भइरहेको बताएको छ ।
परीक्षणपछि यति एअरलाइन्सको सम्पूर्ण वायु सेवाहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।