राजविराज, बारा — स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समयभन्दा १२ दिन बढी भइसक्दा पनि सप्तरीका चारवटा पालिकाले अझै पनि नगर/गाउँसभा गर्न सकेका छैनन् । सभा गर्न नसक्दा ती पालिकाहरूको नीति तथा कार्यक्रम र बजेट अनिश्चित भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी, बोदेवरसाइन र सप्तकोसी नगरपालिका तथा विष्णुपुर गाउँपालिकाको सभा हुन नसकेको हो । कतै जनप्रतिनिधिबीच स्रोत बाँडफाँटमा तालमेल नहुनु, कतै बहुमत अल्पमतको झन्झट त कतै कर्मचारी नहुँदा यी पालिकामा निती तथा कार्यक्रम र बजेट आउन नसकेको हो । प्रावधान अनुसार स्थानीय तहले असारको १० भित्र सभा सम्पन्न गरी नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्छ । जिल्लाका १८ पालिकामध्ये १४ वटामा सभा सम्पन्न भइसके पनि यी चारवटा पालिकामा अझै हुन नसकेको हो ।
हनुमाननगर कंकालिनीमा असार १० भित्रै नगरसभा गर्ने तयारी भए पनि जनप्रतिनिधिबीचकै तनावका कारण हुन नसकेको हो । पालिकामा नगरप्रमुख जनमत पार्टीका वीरेन्द्र माझी छन् भने उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत कार्यपालिका सदस्य जनता समाजवादी पार्टीका छन् । जसपा र जनमत पार्टीका जनप्रतिनिधिबीच तालमेल मिल्न नसक्दा नगरसभा अनिश्चित भएको हो । केही प्राविधिक समस्याका कारण तोकिएको समयमा नगरसभा हुन नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेशकुमार झाले बताए । ‘धेरै कुरामा कार्यपालिकामा सहमति भइसकेको छ,’ उनले भने, ‘केही प्राविधिक विषयमा सहमति पनि यसै महिनाभित्र गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छौं ।’
पछिल्ला दिनमा दैनिकजसो औपचारिक–अनौपचारिक कार्यपालिका बैठक बस्ने गरेको भए पनि नीति तथा कार्यक्रम र वजेट निर्माणमा जनप्रतिनिधिबीच सहमति जुटन सकेको छैन । नगर प्रमुख वीरेन्द्र माझीले केही दिनभित्रै नगरसभा गर्ने तयारी गरेको दाबी गरे । यस्तै समस्या छ, बोदेवरसाइन नगरपालिकामा पनि । यो पालिकामा पनि जनप्रतिनिधिबीच तालमेल नमिल्दा नगरसभा बस्न सकेको छैन भने नीति तथा कार्यक्रम र बजेट कहिले आउने हो टुंगो छैन । नगरप्रमुख आतेशकुमारसिंह यादवले चाँडै बजेट ल्याउने दाबी गरे पनि जनप्रतिनिधिबीच बहुमत अल्पमत तथा योजना र बजेटमा सहमति जुट्न सकेको छैन ।
जिल्लाको सप्तकोसी नगरपालिकामा नगरसभा सुरु गरिए पनि नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेको छैन । ‘केही विषयमा मात्र सहमति हुन बाँकी छ, अरू धेरै कुरामा सहमति भइसकेको छ,’ नगरप्रमुख कृष्ण ढकालले भने । यता, प्रमुख प्रसासकिय अधिकृत नहुँदा सप्तरीको विष्णुपुर गाँउपालिकाको गाउँसभा हुन सकेको छैन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवको सरुवा भएको र असार १० भित्र सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव हाजिर नभएकाले गाउँसभा हुन नसकेको हो । असार १५ मा नयाँ प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर भएका छन् । पालिका अध्यक्ष उमेश यादवले अब गाउँसभा, नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु गरिएको बताए ।
बाराका २ पालिकाको बजेट अनिश्चित
बाराका १६ पालिकामध्ये २ वटाले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । जितपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकाले जनप्रतिनिधिहरूबीच भएको विवादले बजेट ल्याउन नसकेको हो । ती दुवै पालिकामा जनप्रतिनिधिहरूबीच बहुमत र अल्पमतको खिचातानी छ । पचारौतामा जसपाका जनप्रतिनिधि बहुमतमा छ भने जितपुरसिमरामा एमालेको बहुमत छ । पालिकामा एमालेका नगर प्रमुख र उपप्रमुख छन् । जितपुरसिमराको नगरसभा २ पटक स्थगित भइसकेको छ । पचरौताको एक पटक स्थगित भई परिषद् विवाद उच्च अदालत पुगेको छ । जसपाका वडाध्यक्षहरूले बोर्डको बैठक नै बसी नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै रिट दायर गरेका हुन् ।
अदालतले भने बजेट र नीति तथा कार्यक्रम रोक्न नमिल्ने भन्दै बजेट ल्याउन आदेश दिइसकेको छ । नगर प्रमुख जलन्धर सिंहले विषयगत समितिहरू खारेज गर्न भन्दै रिट दायर गरिएकोमा अदालतको आदेश आइसकेकाले चाँडै परिषद् हुने जानकारी दिए । ‘प्रमुख प्रशासकीय अधिकृतको अभावले नीति तथा कार्यक्रम तयारीमा समस्या छ, अब चाँडै हुन्छ,’ उनले भने, ‘विषयगत समिति यथावत् रहने भनेर अदालतले आदेश दिएको छ, त्यसैले माग दाबी नपुगेपछि परिषद् गर्ने बाटो खुलेको छ ।’
जितपुरसिमराले नगर परिषद्मा गणपुरक सदस्यहरूको उपस्थिति नभएकाले सार्वजनिक सूचना प्रकाशित गरी अनिश्चितकालका लागि नीति तथा कार्यक्रम स्थगित गरेको छ । असार १० र १३ मा परिषद् तोकिएकामा अझै कहिले हुने भन्ने निश्चित छैन । उपमहानगरका प्रमुख प्रशासकीय प्रमुख चेतप्रसाद पोखरेलका अनुसार राजनीतिक विषयका कारण परिषद्मा नीति तथा कार्यक्रम तयारी गरेर राख्दा गणपूरक उपस्थिति नभएकाले स्थगित गरिएको बताए । उनका अनुसार एमालेका जनप्रतिनिधिहरू उपस्थित नभएकाले स्थगित गरिएको हो । उपमहानगरमा गठबन्धनको उम्मेदवारले प्रमुखमा र एमालेका उम्मेदवारले उपप्रमुखमा जितेका छन् ।