जनकपुर:
अगामि मसिंर ४ गते हुने प्रतिनिधी र प्रदेशसभाका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
दलबलका साथ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा निर्धारित निर्वाचन केन्द्रमा दल र स्वतन्त्र उम्मेदवारहरुले आ–आफनो मनोनयन पत्र दाखिला गरेका हुन ।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुर्वमन्त्री मातृका प्रसाद यादवले उम्मेदवारी दिएका छन भने एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा एमालेले टिकट नदिएपछि एमालेका उम्मेदवारका रुपमा चर्चामा रहेका हालका प्रदेश सांसद र पार्टीको सचेतक किशोरी साह कमल एमाले परित्याग गरि जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
उनीहरु तिनैजना बिच त्रिकोणात्म प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा यस अघि २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार यादवले चुनाव जित्दा कार्की निकटतम प्रतिद्वन्द्वका रुपमा रहेका थिए ।

क्षेत्र नं. २ मा दुवै गठबन्धन असफल भएको छ । सत्ता गठबन्धनकारी दल कांग्रेसबाट पुर्वमन्त्री रामकृष्ण यादवले उम्मेदवारी दिएका छन भने नेकपा एसका नेता पुर्वमन्त्री रामचन्द्र झाले पनि सो क्षेत्रमा नेकपा एसबाट उम्मेदवारी दिएका छन् ।
यहाँ एमाले–जसपा गठबन्धन पनि असफल भएको छ । एमालेबाट जसपा परित्याग गरेका पुर्वमन्त्री उमाशंकर अरगरियाले उम्मेदवारी दिएका छन भने जसपाबाट एमाले परित्याग गरेका गंगाराम यादव उम्मेदवार बनेका छन् । यहाँ चारैजना बिच प्रतिस्पर्धा हुने भएको छ । गत निर्वाचनमा जसपाबाट अरगरिया विजयी हुँदा झा दोस्रो र रामकृष्ण तेस्रो भएका थिए ।
क्षेत्र नं. ३ मा भने दुवै गठबन्धनका उम्मेदवार र स्वतन्त्रले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट लोसपाका नेता अनिल झा प्रतिनिधीसभामा उम्मेदवारी दिदा एमाले–जसपाका उम्मेदवारको रुपमा एमालेकी नेतृ पुर्व मन्त्री जुली महतोले उम्मेदवारी दिएकी छिन् ।
साथै यहाँ स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौंका मेयर बालेन साहका काका ई.सत्यानारायण साह र नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष उमेश साहले उम्मेदवारी दिएका हुन । जनमतबाट ई. शभ्मु नारायण साह उम्मेदवार बनेका छन् । यसअघि २०७४ को निर्वाचनमा राजपाका राजेन्द्र महतो चुनाव जित्दा कांग्रेसका विमलेन्द्र निधी पराजित भएका थिए ।

धनुषाको क्षेत्र नं. ४ मा सत्ता गठबन्धनबाट प्रतिनिधीसभामा कांग्रेसका सहमहामन्त्री तथा पुर्व मन्त्री महेन्द्र यादव उम्मेदवारी दिएका छन ।
यहाँ एमाले र जसपा बिच गठबन्धन हुन नसकेपछि एमालेका सचिव पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले उम्मेदवारी दिएका छन भने जसपाबाट अवकास प्राप्त कर्मचारी महाजन यादवले उम्मेदवारी दिएका छन् ।
यस अघिको निर्वाचनमा महेन्द्र दोस्रो र महाजन तेस्रो हुँदा महासेठले चुनाव जितेको थियो । धनुषाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका पुर्वमन्त्री, विभिन्न दलका नेता र स्वतन्त्र उम्मेदवारहरुको भविष्य अगामि मसिंर ४ गतेको जनमतले निर्धारण र तय गर्ने छ ।