जनकपुर ।
भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये चारजना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएको फर्मका कर्मचारी हुन् ।
उक्त दुर्घटना हुँदा सैयौँजना पुलमाथि थिए ।
थप बाँचेकाहरू फेला पार्ने आशा कम हुँदैछ । मृत्यु हुनेमा धेरै बालबालिका, महिला र वृद्धवृद्धा रहेका छन् ।
आन्तरिक पर्यटनको एउटा प्रमुख आकर्षण रहेको १४० वर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिएपछि गत हप्तामात्र पुनः खोलिएको थियो ।
आइतबार साँझ भएको दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ परेका नौ जना पुल मर्मत र सञ्चालनको ठेकका पाएको फर्म ओरेभा समूहसँग आबद्ध रहेको जनाएको छ ।
उनीहरूलाई हत्या नभइ कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी अधिकृत अशोककुमार यादवले बताए ।
उनीहरूमध्ये दुईजना टिकट बुकिङ क्लर्कको रूपमा काम गर्ने र दुई जना म्यानेजर रहेको उनले बताए ।
अन्य पाँचमा अभियुक्तमा संरचना मर्मत गर्ने ठेक्का पाएका दुईजना र पुलमा कार्यरत सुरक्षाकर्मी रहेका छन् । पक्राउको समाचारमा ओरेभाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
बीबीसीबाट ।