जनकपुरधाम ।
मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ ।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो ।
कूल १०७ सदस्य रहेको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ १५ सिट जितेर पहिलो दल बनेको एमालेले समानुपातिकमा आठ सिट थपेर २३ सिट पुर्याएको छ भने प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेर २२ सिट पुर्याएर दोस्रो दल बनेको छ ।
विसं २०७४ को निर्वाचनमा मधेस प्रदेशसभामा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दलमा सीमित भएको छ । जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सिट र समानुपातिकमा सात गरी १३ सिटसहित मधेस प्रदेशसभामा चौथो दलका रूपमा स्थापित भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पाँचौँ दल बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट थप्दै नौ सिट पुर्याएको छ ।
सङ्घीय संसद्मा तेस्रो शक्ति बनेको माओवादी केन्द्र भने मधेस प्रदेशमा छैटौँ बनेको छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा पनि चार सिट नै पाएर छैटौँ दल बनेको हो ।
नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिटसहित सातौँ दल बन्दा राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ जना स्वतन्त्र उमेदवारले जितेका छन् । अघिल्लो मधेस प्रदेशसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोससा, एकीकृत समाजवादीसहित आठ दलको प्रतिनिधित्व थियो । रासस