जनकपुर ।
अपहरणपछि भारतको सीमावर्ती भूमिमा हत्या गरिएका दाजुभाइको शव प्रहरीले आइतबार फेला पारेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव बिहार राज्यको सीतामढी जिल्ला पर्सा ग्रामपञ्चायत बेलाबाट फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
खाल्डो खनी गाडिएका अवस्थामा उनीहरुको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड् काले जनाए ।
हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।भारतमा कानूनी प्रक्रिया पूरा गरी शव ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतको सीतामढी जिल्ला सदर अस्पतालमा शवहरुलाई पोष्टमार्टमको प्रक्रियामा राखिएकोछ ।
‘अहिलेसम्मको अनुसन्धानका क्रममा ६ जना पक्राउ परेका छन् ’ उनले भने, चारजना भारतमा र दुईजना नेपालबाट नियन्त्रणमा लिइएको छ । दाजुभाइ अपहरणमा परेका खबर प्रहरीले मौखिक रुपमा गत पुस २९ गते पाएको बताउँदै उनले बताए ।
त्यतिञ्जेलसम्म ढिला भइसकेको उनको कथन छ । ‘पीडित पक्षबाट प्राप्त सूचनाका आधारमा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो,’ उनले भने, ढिलो जानकारी प्राप्त भएका कारण ज्यान जोगाउन सफल हुन सकेनौ ।
‘घटनामा थप व्यक्तिको संलग्नता देखिएको छ ’ एसपी खड्काले भने, पक्राउ परेकाहरुले नै मुख्य योजनाकार अरु नै रहेको भन्दैछन् ।
’ प्रहरीले महोत्तरी मनरासिस्वा नगरपालिकाका २४ वर्षीय किसनकुमार पण्डित र सोही ठाउँका २४ वर्षीय मुकेश पासमानलाई नेपालबाट पक्राउ गरेको छ । प्रहरीले भारतमा पक्राउ परेका चारजनाको नाम भने सार्वजनिक गरेको छैन ।
रोहितले विष्णुलाई लिएर पुस २६ गते आफ्नो मामाघर भारतको परिहार गएका थिए । त्यसको भोलिपल्ट उनीहरु सीतामढी तिरै मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।
उनीहरुले स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराएको खबर परिवारजनलाई दिइएको थियो । त्यसपछि उनीहरु सम्पर्क विहीन भएका थिए । विष्णुको २ वर्ष पूर्व धनुषा जिल्लाको कठालमा विवाह भएको थियो ।रोहितको विवाह भएको थिएन् ।दुबै जना भाइमा एक्लै थिए ।
दुई दिनपछि विष्णुको मोबाइलबाट उनको घरमा अपहरणकारीले फिरौती रकम माग गर्दै फोन गरे । त्यसपछि रोहित र विष्णुको परिवारजनले नेपाल प्रहरी र नेतासँग गुहार मागेको बताइएको छ ।
अपहरणकारीले विष्णुको मोबाइलबाट दुईपटक र दुईपटक भारतीय नम्बरको मोबाइलबाट फिरौती रकमका लागि फोन गरेका थिए । अपहरणकारीहरुले १० लाख फिरौती रकम माग गरेको विष्णुका फुफा देवनारायण साहले बताए । उनका अनुसार फिरौती रकम अनपेक्षित भएकाले परिवारजनलाई विश्वास भइरहेको थिएन् ।
त्यसपछि उनीहरु छोरा विष्णुसँग कुरा गराउन अपहरणकार ीसँग आग्रह गरेका थिए । विष्णुसँग कुरा गराउन अपहरणकारीले मानेनन् । पछि अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई सुनाएको साहले जनाए ।
छोराको अवाज सुनेपछि विष्णु र रोहितको पारिवारले फिरौतीको रकम जोहो गर्दै थिए । फिरौती रकम लिएर उनीहरुलाई सर्लाहीको मलंगवासित जोडिएको भारतीय सीमामा बोलाइएको थियो ।
तर बैंक बन्द भएका कारण रकम झिक्न नपाउँदा एक दिन ढिला भएको बताउँदै मृतकका फुफा साहले त्यसपछि अपहरणकारीको मोबाइल स्विच अफ भएको बताए । त्यसको चार दिनपछि उनीहरुको शव फेला परेको हो ।
स्रोतका अनुसार मृतकका परिजनलाई फिरौती रकमका लागि प्रयोग गरिएको भारतीय मोबाइल नम्बरको आधारमा प्रहरी अपराधी सम्म पुगेको हो ।
भारतमा पक्राउ परेका अभियुक्तहरुले दिएको सूचनाको आधारमा महोत्तरीको मनरासिसवा नगरपालिकाबाट दुई जनालाई पक्राउ गरिएको स्रोतको कथन छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा हत्याको कारण प्रहरीले खुलाएको छैन् ।
तर अपहरणमा नेपाली र भारतीय व्यक्तिहरुको संलग्नता रहेको बुझिन्छ । भारतीय प्रहरीले पक्राउ गरेका अभियुक्तहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छैन् ।प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएको देखिन्छ ।एसपी खड्काका अनुसार नियन्त्रणमा रहेका व्यक्तिहरुले मुख्य योजनाकार अरु नै रहेको बताएकाले अनुसन्धानको क्रमलाई तीव्र बनाइएकोछ ।