जनकपुर —
जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका पोखरीको अतिक्रमण हटाउन प्रशासनसँग सहयोग मागेको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्वका पोखरीको डिल मिचेर बनाइएका घरटहरा खाली गराउन उपमहानगरले अनुरोध गरेको हो ।
उपमहानगरले आफ्नो क्षेत्रका पोखरी सौन्दर्यीकरणको योजना सञ्चालन गरिरहेको छ । तर, अतिक्रमणले उक्त योजना कार्यान्वयनमा ढिलाइ भएको उपमहानगरको भनाइ छ ।
.‘प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नापी कार्यालयलगायत सरोकारवालासँग बैठक बसेर सौन्दर्यीकरण योजनामा परेका पोखरीको डिल अतिक्रमणमुक्त गराउन सहयोग मागेको छु,’ जनकपुरधामका प्रमुख मनोज साहले भने ।
पोखरी सौन्दर्यीकरण योजनामा परेका रामसागर, अग्निकुण्ड, तेलहा र मरहा पोखरीको डिल अतिक्रमण गरी व्यक्ति तथा संघसंस्था घर–टहरा निर्माण गरेको उपमहानगरले जनाएको छ । उपमहानगरले यी चार र जनकपुरधाम–२० रामपुरस्थित नोचा पोखरी सौन्दर्यीकरणका गत आर्थिक वर्ष २०७८/७९ देखि योजना सञ्चालन गरिरहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाका इन्जिनियर लक्ष्मण यादवका अनुसार अग्निकुण्ड–रामसागर पोखरी सौन्दर्यीकरणका लागि २ करोड ६३ लाख रुपैयाँमा ठेक्का लागेको छ । तेलहा र मरहा पोखरीको ठेक्का १ करोड ३७ लाख रुपैयाँमा दिइएको छ ।
नोचा पोखरीको सौन्दर्यीकरण योजना बहुवर्षीय छ । यसका लागि पहिलो चरणमा १ करोड ९७ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ ।
‘तेलहा–मरहा पोखरी सौन्दर्यीकरण योजनाको काम झन्डै ९५ प्रतिशत पूरा भइसकेको छ । डिल खाली भएलगत्तै सबै काम सम्पन्न हुन्छ,’ यादवले भने ।
अग्निकुण्ड र रामसागरको सौन्दर्यीकरण योजनाको शिलान्यास भइसके पनि डिलको सीमा छुट्याउन नसकिएकाले काम हुन सकेको छैन । जनकपुरका गंगासागर, धनुषसागर, अंगरागसर, दशरथ ताललगायत पोखरीको सौन्दर्यीकरण यसअघि भइसकेको छ, जसमा संघ, प्रदेश सरकार र भारतीय राजदूतावासले लगानी गरेका छन् ।
सौन्दर्यीकरणको नाममा पोखरीका डिलको मर्मतसम्भार तथा पक्की घाट निर्माण गरिए पनि पानी शुद्धीकरण र जलजीवको जीवनचक्रबारे ध्यान नदिइएको स्थानीयको गुनासो छ ।
‘पोखरी भनेको पानीको भण्डार हो । डिल त पानी भण्डारण गर्न निर्माण गरिएको घेरा मात्र हो । पोखरी सौन्दर्यीकरण योजनाअन्तर्गत पानीको मुहान र जलजीवको जीवनचक्र जोगाउन पहल गर्नुपर्ने हो । पानी फोहोर छ, अनि डिल जतिसुकै सुन्दर भए पनि कुरूप नै देखिन्छ,’ समाजसेवी अमरचन्द अनिलले भने ।
जनकपुरका पोखरीको पिँधमा प्लास्टिक, बोतल, लत्ताकपडा थुप्रिएकाले पानीको मुहान बन्द हुन पुगेको छ । पानीको स्रोत भनेको वर्षाको पानी तथा घरघरबाट मिसिएका नाला हो ।
‘पोखरी सौन्दर्यीकरण योजनाको आरम्भ पानी शुद्धीकरणबाट हुनुपर्ने हो । तर दुर्भाग्य चारैतिर कंक्रिटको संरचना बनाइएको छ । जलजीवको सुरक्षाबारे कुनै सोच देखिँदैन,’ अमरचन्द्रले भने ।
जनकपुरधामका प्रमुख साह भने पानी शुद्धीकरण तथा जलजीवको जीवनचक्रको सुरक्षाबारे पनि ध्यान दिएको दाबी गर्छन् । तेलहा र मरहा पोखरीको सौन्दर्यीकरण योजनाबारे छलफल गर्न माघ १३ मा बसेको बैठकमा दुवै पोखरी सफा गर्ने निर्णय भएको उनले बताए ।