.
जनकपुर :
विद्यालयमा पढाईको अवस्था बुझ्न गएका एक युवालाई व्यवस्थापन समितिका पूर्वअध्यक्षले कुटपिट गरेर टाउको फुटाइदिएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका-१०, स्थित दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्षले पढाईको अवस्था बुझ्न गएका युवालाई कुर्सीले हानेका थिए।
स्थानीय २१ वर्षीय कृष्णकुमार चौधरीलाई विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले टाउकोमा कुर्सीले हानेका थिए। कुर्सीको प्रहारबाट टाउको फुटेपछि घाइतेलाई १० टाँका लगाउनु परेको छ।
कृष्णकुमारको भाइबहिनी पनि सोही विद्यालयमा पढ्ने भएकाले पढाईको अवस्थाबारे बुझ्न उनी गएका थिए। घाइते चौधरीले राजनीतिक पूर्वाग्रहा राखेर पूर्वअध्यक्ष यादवले कुटपिट गरेको बताए।
व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीसँग विवाद मात्र भएको दावी गर्दै उनले विद्यालयमा आएर अनावश्यक विवाद झिक्ने गरेको बताए। तर स्थानीय भने यादवले विद्यालयलाई आफ्नो निजी सम्पत्ति जस्तो गरेर अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन्।
यादवले आफू अहिले पनि व्यवस्थान समितिको सदस्य भघएको जिकिर गरे।
तर सोही वडाकी वडाधयक्ष सर्मिलाकुमारी रामले विद्यालयको कुनै जिम्मेवारीमा यादव नरहेको स्पष्ट पारिन्। यादवले विद्यालयमा राजनीति गर्ने गरेको स्थानीयको आरोप छ।
युवकलाई टाउकोमा गम्भीर चोट लाग्ने गरी भएको कुृटपिटको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।