जनकपुर :
हत्या गरेर बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका-२ अमाहीमा सोमबार दिउँसो एक जना महिलाको शव फेला परेको छ।
विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा फ्यालेको अवस्थामा दिउँसो १२ बजेतिर शव फेला फेला परेको हो।
प्रारम्भिक अनुसन्धानबाट प्रियंकाको हत्या भएको निस्कर्षमा प्रहरी पुगेको छ। डीएसपी कार्कीका अनुसार शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको हो।
‘शरीरमा चोटपटक रहेका कारण हत्या भएको प्रारम्भिक निस्कर्ष निकालिएको छ,’ उनले भने, ‘अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएरशव फ्यालेको हुनसक्छ।’
घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साह रहेका छन्।
घटनामा उनीहरुको संलग्नता छ कि छैन भन्ने यकिन हुन बाँकी रहेको डीएसपी कार्कीले बताए।
घटनाका सम्बन्धमा विस्तृतमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी कार्कीले दिए।
हत्या गरेर बोरामा पोको पारी फ्यालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउना साथ घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्याएको छ।