जनकपुर ।
मिथिला मध्यमिकी परिक्रमा यात्रा कञ्चनवनमा होली उत्सव मनाएर मंगलबार पर्वता पुगेको यात्रा बुधबार धनुषाको धनुषाधाम पुग्ने भएको छ ।
धनुषाको धनुषाधाममा यात्रीहरुका लागि खानेपानी,निःशुल्क स्वास्थ्य शिविरलगायतको सुविधाजन्य व्यवस्थापनको तयारी गरिएको छ भने धनुषाधामस्थित धनुषमन्दिरलाई बेहुली झैं सजाइएको छ ।
त्रेतायुगमा सीतासंग विवाह गर्नु अघि भगवान रामले तोडेको शिव धनुष तीन टुक्रा भएको थियो सो मध्येको एक टुक्रा धनुष धनुषाधाममै अवस्थित रहेको जनविश्वास रहेको छ ।
धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा १०औं दिन बुधबार धनुषाधाम पुग्ने भएको छ । यस अघि मंगलबार परिक्रमाका यात्रीहरुले पर्वतामा रात्रिविश्राम गरेका थिए ।
मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन हुँदै पर्वता पुगेको थियो ।
पर्वतामा रात्रि विश्राम गरेको परिक्रमा आज (बुधबार) धनुषाधाम पुगेर रात्रि विश्राम गर्नेछ ।
त्यसपछि परिक्रमा सतोषर, औरही हुँदै भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः जनकपुरधाम फर्किने परम्परा रहेको छ ।
जनकपुरधाम पुगेर जनकपुरधामको अन्तगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा पूरा भएको मानिन्छ । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ ।
नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।
यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथि पारी समापन गरिने परम्परा रहेको छ ।