जनकपुर ।
मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किँदै छन् ।
आइतबार भारतको विहारको मधुवनी जिल्लास्थित बिसौलमा विश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि कल्यानेश्वर हुँदै जनकपुरधाम फर्किन लागेका हुन् ।
आज फागु पुर्णिमाका दिन जनकपुरधाम फर्किन लागेका परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघासहित वरपर रात्रि विश्राम गर्ने छन् । बाह्रविघा मैदानमा मेलाको आयोजन हुने छ ।
रात्रि विश्राम गरेर भोलि बिहान जनकपुरधामको अन्तरगृह (पञ्चकोशी) परिक्रमा गरेपछि समापन हुन्छ । मध्यमा परित्रममा सहभागी नहुन सक्नेहरु धेरै श्रद्धालुहरु जनकपुरधामको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित फागुन ८ गते सुरु भएको थियो ।
प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ।
परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर , अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्याउने परम्परा रहेको छ ।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्छन्।
अन्तरगृह परिक्रमा
गंगासागरलगायत पवित्र पोखरीमा स्नान गरी अन्तरगृह परिक्रमा शुरू गर्ने पन्ध्र दिने परिक्रमावासीका अतिरिक्त सामान्य श्रद्धालुहरू आ–आफ्नो सुविधा अनुसार स्नान गरेर अन्तरगृह परिक्रमा गर्दछन् । यसमा पनि लाखौंको सहभागिता हुन्छ जो बिहान २–३ बजेदेखि प्रारम्भ भई ११–१२ बजेसम्म निरन्तर जारी रहन्छ ।
पूर्णिमामा हुने यो अन्तरगृह परिक्रमाको दोस्रो दिन मिथिलाञ्चल तथा तराई-मधेसमा होली पर्व मनाउने चलन छ ।
परिक्रमाको शुरुआत सम्बन्धमा प्रामाणिक दस्तावेजको अभाव छ । तर अहिलेसम्म विष्णु पुराणमा उल्लिखित मिथिला महात्मकै आधारमा यसको प्रारम्भ आचारी बाबाले गरेको भनिएको छ । पछि उहाँका शिष्य कचुरी मठका महन्थ लाखीशरणले परिक्रमालाई व्यवस्थित गर्दै चलाए । त्यस कारण पनि आजसम्म मुख्य डोला कचुरी मठको नै हुने गर्दछ ।
शुरूमा यो पाँच दिनको हुन्थ्यो । सोतीमठका सीताप्रसाद र बराही मठका सुरदास नामक दुई साधुले मिथिला महात्मको आधारमा जब बाटो पत्ता लगाई परिक्रमा शुरू गरे तब यो पाँच दिनकै थियो– कल्याणेश्वर, गिरिजा स्थान, क्षीरेश्वरनाथ, धनुषाधाम र पुनः कल्याणेश्वरमा पूर्णाहुति । जब यो शुरू भयो, मात्र केही साधुसन्त सहभागी हुन्थे ।
बाक्लो जंगल र जंगली जनावरको डरले गृहस्थ जान चाहँदैनथे । र यो डरले परिक्रमा बन्द पनि भयो । पछि जनकपुरधामस्थित सीता कुण्डका रामदास अचारी नामक साधुको सत्प्रयासबाट स्थानीय र प्रवासी साधुहरू संंगठित गरी घुम्न लगाइयो । पछि सुरक्षा प्रबन्ध पनि मिलाइयो । गाजा–बाजाको प्रबन्ध पनि गरियो । यो क्रम दशकौंसम्म चल्यो ।
पाँच दिनको परिक्रमालाई रामानन्दीय वैष्णव सम्प्रदायका साधुहरू सीतामढीबाट आएका स्थानीय ज्ञानकुप निवासी सिद्ध साधु प्रेमलताको नेतृत्वमा यसलाई विक्रम सम्वत् १९६४ मा पन्ध्र दिवसीय बनाइयो । प्रेमलताले ५० जना साधुसन्तबाट शुरू गराएको यो परिक्रमालाई आफ्नो संगठन क्षमताबाट गृहस्थहरूलाई पनि यसमा सामेल गराए । आज यो परिक्रमामा भक्तिभावले सामेल हुनेहरूको संख्या लाखौं पुगेको छ ।
मध्यम परिक्रमा पथ १३० कि.मि. रहेको छ । भारतमा ३३ कि.मि. र नेपालमा ९७ कि.मि. । पन्ध्र दिनमा प्रति दिन तीन–चार घण्टा मात्र हिंडेर अर्को आवासमा पुग्न सकिन्छ । बाटोको व्यवस्थापन नहुँदा खेत, कमजोर र बालुवाले भरिएका सडकबाट हिंड्नुपर्ने बाध्यता रहेको छ ।
यात्रीहरूलाई सहज बनाउन वासस्थानहरूमा धर्मशाला, शौचालय र खानेपानीको उचित प्रबन्धबारे अनेकौं योजना प्रस्तावित रहेका छन् । अहिले यसको सामान्य रूपमा व्यवस्था हेर्ने बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ अर्बको योजना केन्द्रमा पठाए पनि त्यो स्वीकृत भने हुनसकेको छैन । विद्युत्, खानेपानीको व्यवस्था बृहत्तरले गर्ने प्रयास गरे पनि त्यो हजारौंको वासस्थलको लागि पर्याप्त हुनसकेको छैन ।
जनकपुरधामभित्रको अन्तरगृह परिक्रमा पक्की बनाइसकिएको छ । पन्ध्र दिने परिक्रमाको नेपालतिरको ९७ कि.मि.को लागि पटक–पटक योजना बनाइए पनि कार्यान्वयन हुनसकेको छैन । अब प्रदेश सरकारले यो सडकलाई आफ्नो योजनामा राखेर अगाडि बढाउन सके आध्यात्मिक र आस्था धारकहरूको विशाल यात्रा पथलाई धार्मिक पर्यटनको लागि पनि आकर्षक बनाउन सकिन्छ ।
फागुन आउँदै होलीको शुभारम्भ मानिन्छ, तर यसपालि यो चैतमा पर्ने भएकोले परिक्रमाको शुरुआत औपचारिक रुपमा कंचनवनबाट हुने विश्वास गरिएको छ ।
विशेष परिक्रमा
१५ दिने परिक्रमा चलेको ४० वर्षपछि केही साहसी धर्मानुरागीहरूले फेरि २००४ सालमा मिथिला महात्मकै आधारमा पाँचदिने परिक्रमाको शुरुआत गरे, जसलाई पञ्चायणी परिक्रमा भनिन्छ । यो पर्सा–पतैलीका कुलानन्द झाद्वारा प्रारम्भ गरिएको थियो । यो परिक्रमा सप्तमीदेखि शुरू गरी द्वादशीका दिन समापन गरिन्छ ।
पाँच दिनको वासमा कल्याणेश्वर, गिरिजा स्थान, जलेश्वर, क्षीरेश्वर, धनुषा र फेरि कल्याणेश्वर पुग्दछन् । अन्तरगृहमा पनि मात्र कुण्ड, सरोवरहरूको प्रदक्षिणा गरी परिक्रमा चक्र पूरा गरिन्छ ।
गत २५ गते धनुषाको ठेराकचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरको अग्नीकुण्डबाट निस्केको किशोरीजीको डोला जानकी मन्दिरमा दर्शन गराएर अगाडि बढेको थियो ।