जनकपुर —
रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो ।
त्यसपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।
अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । 'आखिर पेटमा यति ठूलो बोतल कसरी पस्यो ?' स्वास्थ्यकर्मीहरू कानेखुसी गर्न थाले ।
पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिए । त्यस क्रममा उनको पेटमा बोतल देखेपछि बाहिर रिफर गरेको डा. अधिकारीले बताए ।
‘एक्सरे गर्दा सिंगो बोतल नै पेटभित्र देखेपछि हामी आश्चर्यमा पर्यौं,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले बाहिर रिफर गरेका हौं ।
’ अवस्था गम्भीर बन्दै गएपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।
तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामुक्त भइसकेको छैन । ‘झण्डै २ घण्टा लगाएर शल्यक्रिया गरेर बोतल निकालें,’ उनले भने, ‘४८ घण्टासम्म निगरानीमा राखेपछि मात्र अवस्था भन्न सकिन्छ । अहिले बिरामी बोल्नसक्ने अवस्थामा छैनन् ।’ शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
साथीले पेटमा छिराएका थिए बोतल
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गर्न थालेका थिए ।
नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका रहेछन् । यो कुरा समीरले थाहा पाई नुर्सादलाई यही शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए । उनी होसमा आएपछि बेस्सरी पेट दुख्न थालेका थिए ।
औषधिले पनि ठीक नभएपछि अस्पताल ल्याएर एक्सरे गर्दा घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ । घटनापछि समीर फरार रहेको इलाका प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।