जनकपुर ।
महोत्तरीको भंगहा नगरपालिकाबाट बेपत्ता भएका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका छन् ।
गत सोमबार अपराह्न भंगहा– ९ कञ्चनवनबाट बेपत्ता भएका दलित समुदायका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको बालिका खोजी गर्ने विशेष टोलीले मंगलबार बिहान जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरेको थियो । उनीहरू सर्लाहीमा रहेको पत्ता लगाएर सो ठाउँ पुग्नै लाग्दा बालिकाहरू फर्किएका प्रहरीले जनाएको छ ।
हराएर भेटिएका बालिकामध्ये एकजना १८ वर्षीया तथा बाँकी १४ र १३ वर्षका रहेका छन् । उनीहरूले आफूहरू मेला घुम्न गएको प्रारम्भिक बयान दिएका प्रहरीले जनाएको छ ।
घटनाबारे यथार्थ विवरण अझै खुल्न नसके पनि उनीहरूलाई कलाकार बनाउने भनी आर्केस्ट्रा नचाउन लगिएको हुन सक्ने प्रहरीको आकलन छ ।
यद्यपि, यही कारण नै हो भन्ने यकिन नभएको र अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका प्रहरी टोलीको भनाइ छ ।
प्रहरीले बालिकाहरूको पछिल्लो दुई दिनको गतिविधि, उनीहरू पुगेको ठाउँ र कारणबारे सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।
यस घटनामा लुकेका धेरै पक्ष हुन सक्ने भएकाले यसलाई गम्भीरताका साथ अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए ।
सामाजिक वातावरण सकारात्मक नहुनु, प्रभावकारी अभिभावकत्व नहुनु, शिक्षा र चेतनाको अभाव, बालबालिकामैत्री वातावरण नहुनु, सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रयोग र उचित मार्गनिर्देशन अभावले यस्तो घटनाहरू दोहोरिने गरेको उनी बताउँछन् ।
कसैको लहलहैमा लागेर वा आफैँ कलाकार बनेर फेमस हुने लोभलेसमेत घटना भएको हुन सक्ने उनको बुझाइ छ ।
यसअघि २०७७ चैत १७ गते भंगहाकै वडा नम्बर ८ धर्मपुरबाट हराएका सात बालिकाको भारतीय रेल्वे पुलिसले सीतामढी रेल्वे स्टेसनबाट उद्धार गरेको थियो । पुनः सोही प्रकृतिको घटना दोहोरिएपछि यसलाई चिन्ताजनक रूपमा लिइएको छ ।
यता ह्युमन रिह्याबिलिटेसन सेन्टर महोत्तरीकी अध्यक्ष लीला दियाली भंगहामै, दलित समुदायकै, एउटै प्रकृतिको घटनामा सातैजना बालिका हराउनुले धेरै प्रश्न उब्जाएको बताउँछिन् ।
पछिल्लो घटनामा समेत प्रहरी अनुसन्धान सन्तोषजनक नभएको बताउँदै उनले घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिन् ।