जनकपुरधाम ।
हुलाकी सडकखण्ड अन्तर्गत धनुषा र सिरहालाई जोड्ने भासिएको कमला नदीको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमला नदी पुगेका छन् ।
गत फागुन १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमला नदीमा बनेको पुल निरीक्षण गर्दै पुल पुनः निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता जनाए बमोजिम प्राविधिक टोलीले माटो परीक्षणको लागि कमला नदी पुगेका हुन् ।
निर्माण सम्पन्न भई उद्घाटन तयारी गरिए पनि उद्घाटन नहुँदै नदीमा आएको बाढीले १७ असार २०७८ मा कमला नदीको पुलको सिराहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुलको पाया भासिएपछि दैनिक हजारौँ सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ ।
अस्थायी काठको पुल निर्माण गरी स्थानीयहरूले सो बाटो सुचारु राखे पनि पुल पार गर्न दैनिक २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
भासिएको पुलको निरीक्षण गर्दै छिट्टै बनाइदिन मन्त्री श्रेष्ठले निर्देशन दिए पनि अहिलेसम्म अस्थायी पुल बन्न सकेको छैन ।
अस्थायी पुल निर्माणको लागि भने ह्यूमपाईप नदीमा खसालिएको स्थानीयले जनाएका छन् । उनले निर्देशन दिएको ११ दिन बित्न लागिसकेको छ ।
नदीमा काठको अस्थायी पुलबाट मानिस र दुई पाङ्ग्रे सवारीसाधन मात्रै आवतजावत गरिरहेका छन् । ठेकेदार कम्पनीले ह्यूमपाईप राखेर अस्थायी पुल राखिदिए चार चक्के सवारी साधनहरूलाई पनि आवतजावत गर्न सहज हुनेछ ।
बिहीबार मन्त्रालयले खटाएको प्राविधिक टोली कमला नदीको माटो परीक्षण सुरु गरेको हो । मन्त्री श्रेष्ठ कमलाको पुल निर्माणको लागि दुई साता समय भनेका थिए । उनले दुई साताभित्रै निर्माण प्रक्रिया सुरु गरिने बताएपछि प्राविधिक टोली समयमै आइपुगेका हुन् ।
करिब दुई वर्षदेखि भासिएको पुल पुनः निर्माण नहुँदा सरोकारवाला निकायहरूलाई सिराहाका राजनीतिकर्मी रामरिझन यादव र पत्रकार देवकुमार यादव सहितका व्यक्तिहरूले दबाब दिइरहेको थियो ।
मन्त्रालयको कोर टिम नै लिएर पुलको निरीक्षण गर्न आएका उपप्रधानमन्त्रीको सो टिमलाई हुलाकी सडक सङ्घर्ष समितिका संयोजकको तर्फबाट रामरिझन यादवले पुलको पुनर्निर्माण चाँडै गरिदिन स्मरण पत्र नै बुझाएका थिए ।