जनकपुरमा डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २१, बुधबार २०:३० बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम । प्रदेश २ अस्थायी राजधानी जनकपुरधाममा डाक्टर गोविन्द केसीको समर्थनमा युवाहरूले प्रदर्शन गरेको छ।

 कोभिड–१९ क्विक रेस्पोन्स टिम र स्थानीय युवाहरुको संयुक्तरुपमा रामानन्द चोकमा बुधबार साँझ डा. केसीको समर्थन र सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको हो ।

डा. केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै युवाहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघीय सरकारको गैरजिम्मेवारीपनका विरूद्ध आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जनाए ।

उनले भने, ‘डाक्टर केसी १९ औं पटकसम्म अनसनमा बसेपनि उनको माग पुरा नहुनु दुःखद हो ।’ स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औं सत्याग्रह सुरु गरेको आज २४ औं दिन भइसकेको छ । उनको स्वास्थ्य नाजुक बन्दै गईरहेको छ । तर, सरकारले भने अझैपनि उनको माग पूरा गर्न र जीवनरक्षाका लागि कुनै कदम चालेको छैन् ।

यस विरोध प्रदर्शनमा नेपाली काँग्रेसका नगर सभापति मनोज साह, जिवनाथ चौधरी, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, क्विक रेस्पोन्स टिमका डा।सज्जन ठाकुर, अनुष पाण्डेय, दिपक ठाकुर, बलराम गुप्ता, रमेश यादव, काँग्रेस नेतृ सम्झना वर्मा, मधेश अधिकार संघर्ष समितिका सरोज कुमार मिश्र, यानका राहुलराज साह, नेविसंघ महोत्तरीका जिल्ला नेता आशुतोष झा लगायतका दर्जनौं काँग्रेसी नेता कार्यकर्ता लगायतकाहरुको सहभागिता थियो ।

डाक्टर केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनसन सुरु गरेका थिए । उनलाई असोज ६ गते काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार