कोरोना संक्रमित हुँदाको अनुभव !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर २८, आईतवार १७:२५ बजे
अनुमानित पढ्ने समय : 6 मिनेट
तस्विर : मधेश 24

लेखक : सुर्य नारायण चौधरी    ।  कोभिड १९ को महामारीले विश्व नै आतकिंत भएको अहिलेको अवस्थामा आमजनता सँगसँगै स्वास्थका दक्ष जनशक्तिहरू पनि पीडित छन् । सावधानीका उपायहरू अपनाउँदै मानिसहरू आ–आफ्नो काममा फर्केका छन् । कोभिडको संक्रमण पनि अब निश्चित बर्ग वा क्षेत्रमा सिमित नभएर समुदायमा फैलिएको छ । त्यसैले यसको संक्रमण कहाँ, कसलाई र कहिले हुन्छ ठम्याउन सकिने अवस्था पक्कै छैन ।

म आफै जनस्वास्थ्यकर्मी । यस महामारीमा कोभिड सम्बन्धि लेख, रचना, जानकारी, सोधहरू पढ्दै आएको छु र आफूले सिकेको, बुझेको तथ्यहरू लेख्ने प्रयासहरू पनि गर्दै आएको छु । आफू सचेत भएर सावधानीका उपायहरू अपनाउँदा अपनाउँदै पनि म स्वयम् कोभिड १९ को संक्रमित भए । मेरो स्वास्थ्य अवस्था गम्भिर नभएकाले होम आईसोलेसनमा छु । स्वास्थ्यका बारेमा बुझेर पनि अबुझ भए जस्तो यस अवस्थामा मनमा डरका तरङ्गहरू आउँदो रहेछ । यिनै मनका भावनाहरू शब्दमा कैद गर्ने कोशिश गरेको छु ।

म कोशी हेल्थ ईन्स्टिच्युटको निमित्त क्याम्पस प्रमुख । कोभिढ महामारी र लकडाउनले लामो समयदेखि शैक्षिक कार्यक्रम बन्द नै रह्यो तर पछिल्लो समयमा परीक्षाको कार्यक्रम र नयाँ भर्नाले क्याम्पसको कार्यालय नियमित खोल्नुपर्ने, विद्यार्थीहरूसँग परामर्श अनि परीक्षाको तयारी गराउनु पर्ने जिम्मेवारी पुरा गर्नुपर्ने भयो । त्यसैले म नियमित क्याम्पस पुग्ने गरेको थिए । आफु पनि मास्क लगाउने र आगन्तुकहरूलाई पनि मास्क अनिवार्य गरेको थिए । एक पटकमा एक जना भन्दा बढिलाई मेरो कार्यकक्षमा प्रवेश गराउँदैन थिए अनि हरेक पटक कागजातहरू छोए पछि सेनिटाईज प्रयोग गर्ने गरेको थिए । कामसकेर घर जाँदा पनि साबुन पानीले हाथ धोएर मात्र प्रवेश गर्ने गरेको थिए । यसरी दिनहरू बितिरहेका थिए ।

मंसिर १० गते दिउँसो तिर अलिक बिसन्चो जस्तो भयो । धेरै थकान र भित्रैबाट ज्वरो आएको महसुस भयो । ३ बजे पछि त कार्यालय बस्न नसक्ने भए । क्याम्पस नजिकै रहेको मेरो कोठामा फर्के अनि केहि बेर पल्टे । मलाई केहि आराम भए जस्तो लाग्यो । लगातारको काम र दौडधुपको थकानले होला जस्तो लाग्यो । आफै स्वास्थ्यकर्मी पनि रहेकोले समान्य एनाल्जेसिक सेवन गरे । भोलिदेखि आराम होला भन्ने आशा थियो ।

तर सोचे जस्तो भएन । औषधिको असर सकिने बित्तिकै ज्वरो बढ्न थाल्यो । आफ्नै शरिर आफैलाई भारी भएको महसुस भयो । छाती चिसो भएर आयो, अनि दिमाग शून्य भयो । केही सोच्न सकिरहेको थिइँन । ज्वरो नापे १ सय २ डिग्री फरेनहाइट देखायो । सूर्यले किरणले कोठा उज्यालो बनाई सके पनि आफूलाई ओछ्यान छोड्ने हिम्मत आएन, त्यसै पल्टि रहें । ‘सञ्चो भएन कि कसो ?’ श्रीमतीले आवाज लगाईन्, झसङ्ग हँुदै उठ्न खोजें तर सकिन । सय केजीको भारीले आफैंलाई थिचेको जस्तो अनि आफ्नै तौल नि आफूले उठाउन नसकिने जस्तो भएको मैले महसुस गरेको थिए । सँधै बिहान सबेर उठ्नु पर्छ, दाँत माझ्ने, हाथमुख धुन लगाउने बाबा नउठेको देख्दा छोरी नि अल्लमल्ल पर्दै भनि, ‘उठेर ब्रस गर्नुहोस्, फ्रेस हुनुहोस्, ज्वरो भागि हाल्छ नि’ । छोरीलाई टार्न सकिएन, उठँे, हाथमुख धोएँ तर फ्रेस हुन सकिएन । उभिन नि गा¥हो भयो, अनि फेरि ओछ्यानमै थचारिए ।

हल्का सुख्खा खोकी सुरु हुनु, खानाको स्वाद र बासना हराउनुले मनमा कोभिडको डर पस्यो । मेरो अनुहारमा डर देखेर होला श्रीमती पनि डराइन् । तर पनि मलाई नआत्तिन, हिम्मत नहार्न सान्त्वना दिँदै कोभिडमा काम गर्दै गरेका चिकित्सकहरूसँग परामर्श लिन आग्रह गरिन् । उनको आग्रहमा केहि डर केहि चिन्ता पाए मैले ।

चिकित्सकसँग फोनमा सल्लाह गरे, कोभिडको शंका गर्न भयो । तुरुन्त पिसिआर गराउन सल्लाह पाए । आफुलाई क्वारेन्टाईनमा राख्न कोठा अलग गरें । तर एकदम जाडो भएर कामज्वरो आएको कारण सोहि दिन पिसिआर गर्न जान सकिएन । कोभिड संक्रमणका बारेमा नबुझेको पक्कै थिइँन तर पनि आफैलाई प्रश्न गरे, के यो कोरोना नै हो ? म पूर्णरुपमा सचेत थिएँ, सावधानी अपनाएको थिएँ । अनि फेरि कसरी संक्रमित भए होला ? मनभित्र कुराहरू खेल्दै गयो । आफूले पुरा गर्न बाँकी रहेका जिम्मेवारीहरू धेरै देख्न थाले, मबाट आश्रित मेरोे परिवार, नावालक छोरी, मेरो क्लासहरू, लायन्सको यात्रा….के के हो के के..। साँच्चैकै कोरोना नै हो ? र म जीवनको अन्त्यमा छु जस्तो सोच्दै गर्दा, आँखा रसायो, शरिर जाडोले काम्न थाल्यो । दुईटा सिरक ओढें, हिटर बालें तर पनि शरिर पूर्णरुपले तताउन सकिएन ।

मेरा बुबा, श्रीमती, कलेज परिवार तथा स्वास्थ्यकर्मीहरूसँगको परामर्श, सान्त्वना अनि लक्षण अनुसारका औषधिहरूले अलिक सहज भएता पनि पिसिआर गराए । मंसिर १५ गते रिपोर्ट आयो, शंका गरे जस्तै रिर्पोटमा कोभिड पोजेटिभ देखियो । तर रिपोर्ट आउँदा म भित्रको डर भागिसकेको थियो । क्याम्पस परिवार, लायन्स साथिहरू, ईस्टमित्र, शुभचिन्तकहरूले दिएको माया, आत्मबल, प्रेरणा साच्चैको प्रभावकारी रह्यो ।

१५ दिन होम आईसोलेसनपछि पिसिआर नेगेटिभ आयो । आफूले कोरोनालाई जित्दा संसार नै जितेको भान हँुदोरहेछ । यो संक्रमणसँग आफूले लड्दै गर्दा कसैले पनि यो लडाई लड्न नपरोस् जस्तो लाग्छ । जसलाई कोरोनाको संक्रमण भएको छैन उसले यो केही होइन भन्ने गरेको सुन्छु । यसले केही वर्ग वा व्यापारिको लागि फाइदा गरेको छ भन्ने सोचाई र अभिव्यक्तिहरू पनि सुनिन्छ । तर जसले यो पिडा भोगेको छ, उनले यसको शारिरिक तथा मानसिक पीडालाई बुझेको हुन्छ । कोरोना सक्रमणलाई हेलचेक्र्याँइ गर्ने पटकै होइन । बरु, जनस्वास्थ्यका मापदण्डहरू कडाका साथ दैनिक व्यबहारमा अपनाउनु पर्छ । हामीले सचेत हुनै पर्छ, सावधानी अपनाउनु पर्छ ।

(चौधरी कोशी हेल्थ ईन्सिटच्युट विराटनगरका निमित्त क्याम्पस प्रमुख हुन् )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार