
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शंकरप्रसाद नामको ४५ बर्षको हात्तीको ज्यान गएको छ ।
निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार माघ २१ गते बिरामी परेर उपचार थालिएको सो हात्तीको माघ २२ गते मृत्यु भएको हो । शंकरप्रसाद निकुञ्जको लामिचौर पोष्टमा रहेर निकुञ्जको सुरक्षामा खटिएको थियो ।
हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरेर अन्त्येष्टि गरिएको छ । चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।
निकुञ्जका चिकित्सक डा. विजय श्रेष्ठका अनुसार हात्तीको मृत्यु सानो आन्द्रा गाँठो परेर भएको हो । उनले भने, ‘हामीले पोष्टमार्टम गरेर हेर्दा सानो आन्द्रो हावा पनि पास नहुने गरी गाँठो परेको रहेछ, रगत सप्लाई पनि थिएन, बचाउन प्रयास गरे पनि सकिएन ।’