परीक्षा दिन गएकी किशोरी सम्पर्क विहीन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ३, सोमबार ०८:२० बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

विराटनगर । परीक्षा दिन गएकी एक किशोरी एक सातायता सम्पर्कविहीन भएकी छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी माघ २५ मा परीक्षा दिन गएपछि घर फर्किएकी छैनन् ।

स्थानीय साजिलाल माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने उनी विहान करिब साढे १० बजे परीक्षा दिन गएकी थिइन् ।

बुबा सुबास दर्जीका अनुसार सविनाले मोबाइल बोक्दिनन् । सामाजिक सञ्जाल पनि चलाउदिनन् । विद्यालयमा गएर साथी र आफन्तसँग सोधीखोजी गर्दा केही कतै नभेटिएको उनले बताए ।

छोरी हराएको भोलिपल्ट इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको उनले बताए । प्रहरीले पनि खोजी बारे परिवारलाई जानकारी गराएको छैन ।

सुवासका अनुसार छोरी परीक्षा दिन विद्यालय प्रवेश गरेलगतै निस्किएको सीसी क्यामेरामा देखिएको छ । तर त्यसपछि कतै देखिएकी छैनन् ।

‘साथीभाइ आफन्त सबै तिर खोजीसक्यौं तर कतै भेटेनौं,’ उनले भने ‘छोरी खोज्दा खोज्दै थाकिसक्यौं हामी ।’ सुवासका ४ छोरी र एक छोरा छन् । बेपत्ता भएकी छोरी कान्छी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले किसोरीको खोजी कार्य जारी रहेको बताए । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बेपत्ता किसोरीले मोबाइल र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएका कारण खोजी गर्न कठिनाइ भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार