कोरोना संक्रमण बढ्दो क्रममा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ७, शनिबार १६:१४ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

जनकपुर । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना संक्रमण पुनः उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ ।

शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ, जसमध्ये एक लाख ५९ हजार ३७० को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १५४ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन् । सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको छ ।

पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुनः संक्रमण बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार