सिरहाको दशगजा क्षेत्रमा २ सय ५० भारतीय परिवारको बसोबास

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २१, शनिबार ०७:२४ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

सिरहा — सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो । मुखिया भारतको लगडी गाउँका हुन् । उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् ।

दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफूलाई थाहा नभएको उनले बताए ।

‘पहिले दशगजा ऐलानी पर्ती थियो । सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन् ।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरेका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् ।

सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो । भारतीय नागरिक जयनारायण मुखियाले आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । ‘कहिलेकाहीं नेपाल र भारतका प्रहरी पिलरको फोटो खिच्न आउँदा यो क्षेत्र खाली गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फोटो लिएर गएपछि फर्केर आउँदैनन् ।’

लगडी गाउँकै कपिलदेव यादवले पनि आफूहरू पुस्तौंदेखि दशगजामै बस्दै आएको सुनाए । ‘यहाँ त घर आँगनमै जंगे पिलर छ,’ उनले भने, ‘केही महिनाअघि दुवै देशका अधिकारीले फेरि सीमास्तम्भ गाडेका छन् ।’ दुवैतिरका बासिन्दाले दशगजा मिचेर बस्ती र खेती गर्ने गरेको उनले बताए । दशगजा क्षेत्रमा भारतीय नागरिक बसोबास गर्न थालेपछि २८ नम्बरको पिलरभन्दा ६० मिटर उत्तर वर्षायाममा पानी बग्ने ठाउँलाई अहिले दशगजा भन्न थालिएको उनको भनाइ छ ।

सीमावर्ती छिमेकी गाउँका नेपाली नागरिकले पनि विभिन्न ठाउँमा दशगजा क्षेत्रमा खेती गर्दै आएका छन् । सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाको सीमावर्ती वडामा दशगजा मिचिएको छ । भारतीय प्रहरीले बोर्ड टाँगेर ठाडी बजारस्थित दशगजामै चेकपोस्ट राखेको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको महत्त्वबारे चेतना नभएको स्थानीय कन्हैया भट्टले बताए ।

‘केही भारतीयले नेपाली नागरिकता बनाएका छन् भने केही नेपालीले भारतीय आधार कार्ड बनाएका छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिको दुवैतिर जग्गाजमिन छ । खेती गर्छन् ।’ दशगजा मिचेर बसे पनि एकापसमा विवाद कहिल्यै नभएको उनले सुनाए । प्रहरी/प्रशासनको तथ्यांकअनुसार सिरहामा मुख्य २७, सहायक १९ र सानो ३४२ गरी ३८८ वटा पिलर छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार