मिर्चैयामा आजदेखि विष्णु महायज्ञ सुरु, धार्मिक कार्यक्रम अहिलेको आवश्यकता : राजकिशोर यादव

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २५, बुधबार २०:२० बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले धार्मिक कार्यक्रम समाजका लागि अहिले आवश्यकताको विषय रहेकोे बताएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–४ स्थित बगैंचामा आयोजित ११ दिने विष्णु महायज्ञको विधिवत् उद्घाटन गर्दै नेता यादवले यस्तो बताएका हुन् । समाजमा आधुनिकतासँगै धार्मिकता धरापमा परेको भन्दै धार्मिक जागरण कार्यक्रम समाजमा अहिले आवश्यक रहेकोे औल्याए ।

उनले यस्ता कार्यक्रमले समाजमा सद्भावको विकास र शान्ति कायम गर्ने विश्वास व्यक्त गरे । धार्मिक कार्यक्रमले समाजबाट अशान्ति हट्ने र समतामूलक समाजको निर्माण हुने प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल बताउँछन् ।

समाजमा हुने गलत कार्यहरू यस्ता धार्मिक कार्यक्रमले न्यूनीकरण हुने उनको धारणा छ । भौतिक विकासले मात्रै देश र समाज समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका लागि युवा पुस्ता अगाडी आउनुपर्ने प्रदेश सांसद दिलिप साहले बताए ।

बैशाख ४ गतेसम्म चल्ने यो महायज्ञ स्थानीय दाताहरुकै सहयोग र अगुवाइमा आयोजन गरिएको छ । यहाँ पहिलोपटक आयोजित महायज्ञमा विभिन्न देवीदेवताका गरी १२१ मूर्तिहरु निर्माण गरिएको छ ।

महायज्ञमा विविध प्रकारका खेल, तमासा तथा धार्मिक कार्यक्रम आयोजन पनि गरिएको आयोजकले जनाएको छ । महायज्ञमा तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिनेछन् ।

११ दिने महायज्ञको भव्य व्यवस्थापन गरिएको आयोजक समितिका अगुवा तथा वडा ४ का वडाध्यक्ष दिनेश यादवले जानकारी दिए । महायज्ञमा बाहिरबाट आएका भक्तजनका लागि पनि उचित व्यवस्था मिलाइएको उनले बताए ।

शान्ति सुरक्षालाई मध्यनजर यज्ञस्थलमा प्रहरी परिचालन गरिएको उनले जनाए । पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार