जनकपुर अस्पतालमा ‘लाश’माथि बार्गेनिङ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ६, सोमबार १३:१८ बजे
अनुमानित पढ्ने समय : 5 मिनेट
तस्विर : मधेश 24

कमलेश ठाकुर, जनकपुरधाम : गत चैत २५ गते धनुषाधाम नगरपालिका– ६ हरिपुरकी २५ वर्षीया किरण सिंहको स्वास्थ्य बिग्रियो । शरिर कमजोर भएर किरण घरमै बेहोस भईन् ।

आफन्तले जनकपुरधामस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गराए । प्रारम्भिक उपचारपछि चिकित्सकले किरणलाई निमोनिया भएको सुनाए ।

भर्ना भएको भोलिपल्ट चिकित्सकले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै आईसीयूमा भर्ना गरे । त्यहाँ पनि उनको उपचार सम्भव भएन । चार दिनपछि भेन्टिलेटरमा सिफ्ट गरे ।

भेन्टिलेटरमा राखेपछि तीन दिनभित्र निमोनिया निको हुन्छ भनेर चिकित्सकले किरणका बुवा विजय सिंहलाई आश्वासन दिए । तर, सोही मध्यराति १२ बजे अस्पतालले किरणको मृत्यु भएको खबर आफन्तलाई दिए ।

चिकित्सकको लापर्बाहीले किरणको मृत्यु भएको परिवारजनले आरोप लगाए । परिवारजनले लापार्बाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाही र क्षतिपूर्तिको माग गरे । दुबै पक्षको घम्साघम्सीपछि किरणको उपचार खर्च र क्षतिपूर्ति अस्पतालले तिर्नुपर्नेमा सहमति भयो ।

फार्मेसीमा औषधिवापत तिरेको ६८ हजार रुपैयाँ र उपचार खर्च गरी करिब २ लाख रुपैयाँ अस्पतालले फिर्ता गर्ने र चिकित्सकलाई कारबाही गर्ने प्रतिवद्धतापछि आफन्तले शव बुझे ।

अस्पतालले उपचार खर्च मिनाहा गर्नुका साथै किरणको उपचारमा संलग्न डा.गोविन्दराज मण्डललाई निलम्बन गर्ने प्रतिबद्धता ग¥यो । तर, डा.मण्डललाई निलम्बन गरे÷नगरेकोबारे परिवारलाई अहिले चासो छैन ।

जानकी मेडिकल तथा शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.अरुण गुप्ताले विवाद साम्य पार्न उनलाई रणनीतिक हिसाबले निलम्बन गरेको जिकिर गरे ।

चैत १६ गते धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ की शिलादेवी यादवलाई सुत्केरी ब्यथा लाग्यो । सुत्केरी ब्यथाले च्यापेपछि उनी जनकपुरको बैदेही हस्पिटल भर्ना भइन् ।

साँझ ७ बजे श्रीमती लिएर पुगेका रमण यादवलाई अस्पतालले दश मिनेटमै चिकित्सक बोलाइदिने आश्वासन दिए । शिलालाई रक्तश्रावसँगै पीडा बढ्दै गयो ।

उनका आफन्तले स्त्रीरोग विशेषज्ञलाई बोलाइदिन बारम्बार बिन्ती गरे । तर, राति २ बजे मात्र चिकित्सक आए । उनलाई शल्यक्रिया कक्षमा लगियोे ।

त्यतिबेला पेटभित्रको शिशुको ज्यान गइसकेको थियो । अस्पतालको लापर्बाहीले बच्चाको मृत्यु भएको अस्पताल स्वयम्ले स्वीकार ग¥यो । पीडित पक्षले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरे ।

क्षतिपस्र्ति नदिए शव नबुझ्ने अडान लिए । सुरुमा कानुनी प्रक्रियामा जान अघि सरेको पीडित पक्ष पछि मेलमिलापमा राजी भए । चारलाख रुपैयाँ लेनदेन गरी घटनाको ढाक्छोप भयो ।

गत साउन २६ गते महोत्तरी गौशाला नगरपालिका–११ की २३ वर्षीया गंगादेवी महतो जनकपुरकै रामजानकी अस्पतालमा भर्ना भइन् । छोरी जन्माएपछि उनको शरिरमा रगत कम भएको भन्दै अस्पतालले रगत मगाए ।

उपचारका क्रममा अस्पतालले ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाए । अस्पताल र रेडक्रस दुवैको लापर्बाहीले उनको ज्यान गयो ।

फरक ग्रुपको रगत चढाएकै कारण सुत्केरीको मृत्यु भएको अस्पतालले समेत स्वीकार ग¥यो । पीडित पक्षले क्षतिपूर्ति र चिकित्सकलाई कारबाही नहुञ्जेल शव नउठाउने अडान लिए ।

अन्त्यमा अस्पतालले क्षतिपूर्ति दिन तयार भएपछि गंगाका ससुरा पक्ष र अस्पताल प्रशासनबीच वार्ता भयो । अस्पतालले आफ्नो चरम लापर्बाही ढाकछोप गर्न पीडितलाई ५ लाख रुपैयाँ दिएर घटना मिलापत्र गरे ।

०७५ फागुण २८ गते मिथिला नगरपालिका ६ का रामनरायण खत्वे प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भए । रत्तचापले अवस्था बिग्रिएपछि छोरा रमेश मण्डलले उनलाई अस्पतालको इर्मजेनसी कक्षमा पु¥याए ।

अस्पतालले पहिला प्रकृया पु¥याउन दबाब दिए । उनको छोरा टिकट काउण्टरमा गए । र, उपचार सुरु गर्न चिकित्सकसँग आग्रह गरे । टिकट लिएर आएपछि उपचार सुरु भएको थिएन । उपचार सुरु गर्दा एकछिनमै उनको मृत्यु भयो ।

चिकित्सककै गल्तीले बुबाको ज्यान गएको भन्दै उनका छोरा रमेशले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिए ।

घटना छानबिनका लागि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको संयोजकत्वमा १० सदस्यीय छानबिन समिति समेत गठन भयो ।

तर, समितिले घटनाको छानबिनै नगरेको र पटक–पटक धाउँदासमेत कुनै उपलब्धि नभएपछि पछि हटेको उनका कान्छा छोरा राजाराम मण्डलले बताए ।

जनकपुरमा स्वास्थ्य संस्थाको लापर्बाहीले पटक–पटक बिरामीको ज्यानै जाने घटना दोहोरिँदै आए पनि रकम लेनदेन गरी मिलापत्र गर्ने प्रवृति बढ्दो छ ।

अस्पतालले आफ्नै गल्तीका कारण बिरामीको ज्यान गएको स्वीकार गर्दासमेत आजसम्म कुनै पनि अस्पताललाई कारबाही हुन सकेको छैन । राजनीतिक, आर्थिक, प्रशासनिक र विचौलियाको दबाबमा पीडित पक्षसमेत रकम लेनदेन गरी अस्पतालसँगै मिल्न बाध्य छन् ।

अधिकांश घटना छानबिन नै नगरी मिलापत्र गरिएको भेटिन्छ । अस्पतालहरू पहुँच र आर्थिक रूपमा समेत मजबुत हुने हुँदा पीडित पक्ष कानुनी प्रक्रियामा जानै चाहदैनन् ।

तर, पीडित पक्षले उजुरी नदिँदा अस्पतालभित्र घट्ने त्यस्ता घटनाका विषयमा अनुसन्धान गर्न नसकिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्र बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार