स्थानीय जनप्रतिनिधिलाई नेता यादवको सुझाव : एउटै माघले जाडो कट्दैन भन्ने कुरा बुझिराख्नोस्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १७, बुधबार १९:४५ बजे
अनुमानित पढ्ने समय : 3 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले पार्टीगत स्वार्थ त्यागेर विकासमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् ।

सिरहाको नरहा गाउँपालिका–५ स्थित पक्की सडकको शिलान्यास गर्दै नेता यादवले जनप्रतिनिधिहरुलाई यस्तो सुझाव दिएका हुन् । उनले जनहितलाई प्राथमिकतामा राखेर विकासको सन्दर्भमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

कुनै पनि पार्टी वा व्यक्तिले सर्वहित तथा पारदर्शी तवरले बनाएको योजनालाई आफू स्वागत गर्न तयार रहेको उनले बताए । ‘पार्टीको सिद्धान्त आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर मैले विकासको सन्दर्भमा पार्टीभन्दा जनताको हितलाई प्राथमिकतामा राखेको छु ।’

जनताको हितका लागि विकासको सन्दर्भ जोडेर कुनै पनि व्यक्ति वा पार्टीसँग आफू सहकार्य गर्न तयार रहेको उनले बताए । कोरोना झनझन भयावह बन्दै गएपनि र किसान मल, बीउ तथा व्यवस्थित सिचाईको आश खोजि रहेपनि नेकपाको बहुमतीय सरकारका नेता र सांसदहरुलाई आन्तरिक विवादबाटै फुर्सद नभएको उनले आरोप लगाए ।

बहुमतीय दम्भ हटाउनका लागि जनता समावादी पार्टी वाहेक अन्य बिकल्प नभएको भन्दै सबैलाई एकढिक्का हुन उनले आग्रह गरे । आमन्त्रणका बाबजुद पनि कार्यक्रममा नआएका गाउँपालिका अध्यक्ष रामशरण यादवलाई इंगित गर्दै उनले विकासका काममा पार्टीबाट माथि उठ्न नसक्नेहरु एउटै माघले जाडो कट्दैन भन्ने कुरा बुझ्नुपर्ने औल्याए ।

ग्रामिण विकासको लेखाजोखा गर्ने जिम्मेवारी स्थानीय सरकारको भएपनि जनप्रतिनिधिहरुले ठूलो हृदय देखाउन नसकेकोमा उनले दु:ख पनि प्रकट गरे । शिलान्यास भएको योजना गुणस्तर र पारदर्शी ढंगले समयमा सम्पन्न भए आउने दिनमा थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो स्वार्थ अनुरुप योजना बनाएर अपारदर्शी रुपले काम गरेर भ्रष्टाचार गर्नेले जनताको हित कहिल्यै गर्न नसक्ने भन्दै उनले सुन्दर र पारदर्शी समाज निर्माणको अभियानमा सबैलाई जुट्न आग्रह पनि गरे ।

यस्तै, प्रदेश २ सरकारका उद्योग, पयर्टन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले सम्पन्न र समृद्ध मधेशका लागि मधेशवादी पार्टी एक ठाउँमा आए जस्तै मधेशका सबै जनता एक भएर मधेशवादी पार्टीलाई साथ दिनुपर्ने बताए ।

बाहुनवादी पार्टीले कहिल्यै मधेशको भलो नचाहेकै कारण मधेश पछि परेको र आउने दिनमा पनि ती पार्टीहरु मधेशीको नहुने भन्दै जनता अब गम्भीर बनेर सोच्नुपर्ने समय आएको उनले बताए ।

बाहुनबादी पार्टीका नेताहरूले बसाएको चुनाव ताका मात्रै जनतालाई मुख हेराउने प्रवृत्तिलाई पनि आफूहरुले चिर्दै गइरहेको समेत उनले बताए । बाराको गढिमाईमा ५ वर्षको अन्तरालमा लाग्ने मेलाप्रति संकेत गर्दै उनले भने, ‘पहिला नेताहरु जितेर गएपछि पाँच वर्ष पुरा गरेर गढिमाई मेला जस्तै गाउँ पस्थे, तर हामी निरन्तर जनताको साथमा रहँदै गाउँगाउँ पुग्दैछौं ।’

दुई तिहाईको दम्भ देखाएर नेकपाको सरकारले संघीयता विरोधी काम गर्दै मधेशलाई होच्याउन खोजेको भन्दै त्यस्तालाई सवक सिकाउने शक्ति जनताकै हातमा रहेकोले सबै सचेत हुनुपर्ने उनको आग्रह छ ।

आज शिलान्यास गरिएको पक्की सडकका लागि सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजकिशोर यादवले संसदीय विकास पूर्वाधार कोषबाट ५० लाख बजेट उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार