मिर्चैयामा ‘विष्णुपुराण महायज्ञ’ : आज कलश शोभा यात्रा, भोलि उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २४, मंगलवार २०:२६ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

विनय यादव

मधेश24,सिरहा । सिरहाको मिर्चैयामा आयोजित विष्णुपुराण महायज्ञ बुधबारदेखि विधिवत् सुरु हुने भएको छ । मिर्चैया नगरपालिका–४ स्थित बगैंचामा आयोजित ११ दिने विष्णुपुराण महायज्ञको भोलि विधिवत् उद्घाटन हुने भएको हो ।

चैत २५ देखि सुरु भई बैशाख ४ गतेसम्म चल्ने यस महायज्ञको उद्घाटन जसपा नेता तथा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलसमेतको उपस्थितिमा हुने आयोजक समितिले जनाएको छ । महायज्ञको पूर्वसंध्यामा मंगलबार मिर्चैयामा कलश शोभा यात्रा गरिएको छ ।

महायज्ञ स्थलबाट आज बिहान निकालिएको विशाल कलश शोभा यात्रा मिर्चैया बजार क्षेत्रको परिक्रमा गर्दै नदीमा जल उठाई यज्ञस्थलमा फर्किएर विधिपूर्वक स्थापना गरिएको छ । विष्णुपुराण महायज्ञका लागि बाजागाजासहित गरिएको कलश यात्रामा २ हजार बढीको संख्यामा महिला तथा पुरुषको सहभागिता रहेकोे थियो ।

स्थानीय दाताहरुकै सहयोग र अगुवाइमा आयोजन गरिएको ११ दिने महायज्ञको भव्य व्यवस्थापन गरिएको आयोजक समितिका अगुवा तथा वडा ४ का वडाध्यक्ष दिनेश यादवले जानकारी दिए । महायज्ञमा बाहिरबाट आएका भक्तजनका लागि पनि उचित व्यवस्था मिलाइएको उनले बताए । शान्ति सुरक्षालाई मध्यनजर यज्ञस्थलमा प्रहरी परिचालन हुने आयोजक समितिले जनायो ।

यहाँ पहिलोपटक आयोजित महायज्ञमा विभिन्न देवीदेवताका गरी १२१ मूर्तिहरु निर्माण गरिएको छ । महायज्ञमा विविध प्रकारका खेल, तमासा तथा धार्मिक कार्यक्रम आयोजन गरिएको पनि वडाध्यक्ष यादवले जनाए । महायज्ञमा तान्त्रिक बाबाले कथा वाचन तथा विशेष प्रवचन दिने उनले बताए ।

पौराणिक धार्मिक मान्यता सम्वद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको समितिको भनाइ छ । यहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार