आधार एउटै, धार फरक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २, आईतवार १०:१२ बजे
अनुमानित पढ्ने समय : 7 मिनेट
तस्विर : मधेश 24

काठमाडौँ — २०७४ फागुन २ गते पनि ‘भ्यालेन्टाइन्स डे’ नै थियो । तत्कालीन एमाले र माओवादी नेताहरूबीच सत्ता सहकार्य गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्रीमा समर्थन गर्ने समझदारी बन्यो ।

वाम गठबन्धनबाट झन्डै दुई तिहाइ बहुमत ल्याएका यी दुई दलले चुनाव जितेको दुई महिनापछि सरकार बनाउने सहमतिमा पुगेको त्यो दिनलाई एकताको आधारका रूपमा व्याख्या गरे ।

सायद त्यसै कारण दुई अध्यक्षले आपसमा गुलाफको फूल साटे, उनीहरूबीचको प्रेम जुगसम्म कायम रहोस् भन्ने कामना अरू नेताले गरे । फागुन ३ गते ओली प्रधानमन्त्रीमा निर्वाचित भइहाले ।

पुष्पकमल दाहाल ओलीसँग मिलेर शक्तिशाली नेकपा बनाउने अभियानमा दौडिरेहका बेला उनैले नेतृत्व गरेको माओवादीलाई ‘भूकम्पले थिलोथिलो पारेर रातो स्टिकर टाँसेको घर’ भन्दै छोडेका बाबुराम भट्टराईको नयाँ शक्ति ‘टुकुर टुकुर’ हिँड्दै थियो ।

२०७४ को प्रतिनिधिसभा चुनावमा भट्टराईले गोरखा–२ बाट जिते पनि देशभरमा उनको पार्टीलाई जम्मा ८२ हजार मत आयो, जसले भट्टराईले तामझामसहित खोलेको नयाँ शक्तिलाई राष्ट्रिय दल बन्ने उचाइ प्राप्त भएन ।

शान्ति प्रक्रियामा आएको सुरुवाती दिनमा नयाँबजारस्थित एउटा घरको तल्लो–माथिल्लो फ्ल्याट सेयर गरेर बसेका दाहाल र भट्टराई एक–अर्काका लागि बिरानो बन्दै गए । प्रतिनिधिसभामा एक सिटमात्रै रहेका भट्टराई र दुई तिहाइको नेतृत्वकर्ता दाहालका बीचमा यो अवधिमा हार्दिकतापूर्ण सम्बन्ध पनि रहेन ।

एउटै मुहानबाट उदाएका यी दुई नेताको धार विस्तारै छुट्टिँदै गयो । उनै दाहाल र भट्टराई शनिबार एउटै मञ्चमा देखिए । उक्त क्षणलाई दाहालले विशेष र अर्थपूर्ण भनेका छन् ।

२०५२ सालमा सत्तालाई ४० बुँदे मागपत्र बुझाएर नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो । संघर्ष सुरु भएको फागुन १ लाई उसले ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन थाल्यो । सशस्त्र संघर्ष सुरु भएको २५ वर्ष पुगेकै दिनको छेको पारेर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले संस्मरणात्मक किताब ‘गुमनाम आमाहरूको कथा’ सार्वजनिक गर्न दाहाललाई बोलाए ।

त्यही कार्यक्रममा दाहालले भट्टराईसँगको सम्बन्धको स्मरण गरे । उनीहरूले ‘जनयुद्ध’ को गलत व्याख्या गरिएको भन्दै संयुक्त रूपमा मन दुखाए पनि ।

सशस्त्र संघर्षको अवधिमा दाहाल सुप्रिम कमान्डर भए तापनि वैचारिक हिसाबले भट्टराईको चर्चा धेरै हुन्थ्यो । त्यसैले माओवादीले सशस्त्र संघर्ष थालेको एक वर्षमा केन्द्रीकृत नेतृत्व हुनुपर्ने कुरामात्रै उठाएन, अध्यक्ष दाहालको फोटोसमेत सार्वजनिक गर्ने निर्णय गर्‍यो ।

अध्यक्षको जुन लाइन हुन्छ, पार्टीका अरू नेताहरू पनि त्यही बोल्नुपर्ने कडा अनुशासन पार्टीभित्र थियो तर भट्टराई आफ्ना विचार स्पष्ट राख्नुपर्छ भन्ने लाइनमा थिए । त्यसैले दाहाल र भट्टराईका बीचमा बारम्बार वैचारिक मतभेद भयो ।

मणि थापा, रवीन्द्र श्रेष्ठजस्ता नेताहरूले माओवादीले भट्टराईको बौद्धिकताको दोहन गरेको तर उनलाई स्पेस नदिएको भनेर नेतृत्वको आलोचना गरिरहन्थे ।

२०६१ मा रुकुमको लावाङमा भएको बैठकमा भट्टराई कारबाहीमा परे । २०६२ को चुनबाङ बैठकमा शान्ति प्रक्रियामा जाने र दलहरूसँग सहकार्य गर्ने निधो भएसँगै दाहाल र भट्टराईबीच फेरि एकता भयो ।

भट्टराईको कारबाही पनि फुकुवा भयो तर उतारचढावपूर्ण सम्बन्धको सिलसिला भने सकिएन । शान्ति र संविधान कसको एजेन्डा हो भन्ने विषयमा समेत यी दुई नेताबीच टकराब देखापर्‍यो । यद्यपि २०६४ को संविधानसभा चुनावमा माओवादी ठूलो पार्टी भएपछि दाहालको नेतृत्वमा सरकार बन्यो ।

त्यतिखेर भट्टराई अर्थमन्त्री थिए । यो बेला पनि प्रधानमन्त्रीभन्दा अर्थमन्त्रीको कामको धेरै चर्चा भयो । दाहाल नेतृत्वको पहिलो सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको थियो । यद्यपि त्यो निर्णय कार्यान्वयन हुन भने सकेन ।

पार्टीकै अन्तरसंघर्षमा दाहाल–भट्टराईको उतारचढावपूर्ण सम्बन्ध २०७२ असोज ९ देखि भने औपचारिक रूपमा टुंगियो । त्यसयता विचारका हिसाबले एकै ठाउँमा नदेखिएका यी दुईको एजेन्डा पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेसँगै फेरि मिल्न थालेको छ ।

युद्धकालीन साझेदार र भट्टराईभन्दा पुराना साथी रामबहादुर थापा सत्तामा बसेर आफैंमाथि जाइलाग्दा ओलीको कदमविरुद्ध सँगै अघि बढ्नुपर्छ भन्ने भट्टराईको अभिव्यक्तिबाट पछिल्लो समय दाहालले केही राहत महसुस गरेका छन् ।

उनले शनिबार भट्टराईको किताब विमोचनका क्रममा पनि यसको संकेत गरेका छन् । उनले इतिहासको आ–आफ्नै कर्मका कारण टाढा हुन खोजे पनि परिस्थितिले नजिक ल्याइदिएको बताएका थिए । ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हामीलाई जुटाई नै राखेको छ ।

हामीलाई अलग हुन दिँदैनन्, ती हजारौं सहिद, बेपत्ता, घाइते, अपांगहरूले अलग हुन दिन्नन्,’ दाहालले भने, ‘त्यतिबेलाका हाम्रा उन्नत विचारहरू, मानवीय संवेदनाका अनुभूतिको तीव्रताका सबै दृष्टिकोणले उच्चता छोएका ती दिनहरूले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेका छन् ।’

दाहालले बाबुराम र आफ्नो एउटै मञ्चमा उपस्थिति सामान्य प्राविधिक घटनामात्रै नभएको बताए । ‘जनयुद्ध दिवसकै दिन यो उपस्थिति विशिष्ट अर्थ र महत्त्वको छ, आउने दिनमा यसले सकारात्मक परिणाम ल्याउनेछ भन्ने विश्वास छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि सबै राजनीतिक दलले संयुक्त आन्दोलन गर्ने कुराकानी पनि अगाडि बढेको थियो तर कांग्रेस सभापति शेरबहादुर देउवाको अनिच्छाका कारण त्यो सम्भव हुन सकेन । जसपामा समेत ओली कदमको विरोध

गर्ने या सर्वोच्चको फैसला कुर्ने भन्नेबारेमा मतभेद छ । भट्टराई ओलीविरुद्ध खरो उत्रिने नेताहरूमध्येमै पर्छन् । त्यसमाथि युद्धकालीन मुद्दा ब्युँत्याउने चर्चाहरू आइरहँदा दाहाल र भट्टराई दुवैलाई चस्का पस्नु स्वाभाविक पनि हो । त्यसैले पनि एकै ठाउँमा बसेर आन्दोलन गरौं भन्ने आह्वान दाहालले गरेका हुन् ।

उनीहरूबीच गत माघ ९ मा उपराष्ट्रपति नन्दबहादुर पुनसहित उपराष्ट्रपति निवासमा छलफलसमेत भयो । एजेन्डा र कुराकानीका हिसाबले नजिक देखिए पनि पार्टीका पुराना ‘कमरेड’हरू फेरि एकै ठाउँमा हुने सम्भावना भने नरहेको भट्टराईको भनाइ थियो ।

‘मैले माओवादी पार्टी परित्याग गर्नुको अर्थ माओवादी आन्दोलन त्याग गरेको हैन, जनयुद्ध परित्याग गर्‍यो भनेर धेरैले भ्रम छर्न खोज्नुहुन्छ, त्यो ठीक होइन,’ भट्टराईले भने, ‘हामी जहाँबाट टुक्रेका छौं, सबै एक ठाउँमा आइदिए हुन्थ्यो भन्ने साथीहरूको अत्यन्त बालसुलभ बुझाइ र पवित्र भावनाले भनिएको कुराको म सम्मान गर्न चाहन्छु तर त्यो आवश्यक छैन, सम्भव हुँदैन र उपयुक्त पनि हुँदैन भन्ने मलाई लाग्छ ।’ तर ‘जनयुद्ध’ बारेको बुझाइ भने सबैको एकै किसिमको हुनुपर्ने भट्टराईको भनाइ थियो ।

तीन वर्षअघिको भ्यालेन्टाइन्स डेमा फूल साटेर सुरु भएको ओली–दाहाल सम्बन्ध अहिले बिग्रिएर वाक्युद्धको चरणमा पुगेको छ । २६ वर्षअघि सुरु गरेर १० वर्षसम्म सशस्त्र संघर्ष गर्दाका दाहालका सारथि अहिले उनको दायाँबायाँ देखिन्नन् ।

सहिद र बेपत्ताका परिवारका थरीथरीका कार्यक्रम भ्याउन हस्याङफस्याङ गरिरहेका दाहाललाई उनकै पूर्वसहकर्मी टोपबहादुर रायमाझीले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको भन्दै त्यसको हिसाबकिताब मागिरहेका थिए । यता भट्टराईलाई दाहालको अपिल थियो, ‘सबै घटनाले हामीलाई फेरि एकचोटि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने देखाएको छ ।

देशको अवस्थाबारेमा गम्भीर विमर्श गरेर अग्रगमनका लागि फेरि एकपल्ट मोर्चा कसेर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’

२०४० सालमा पहिलो पटक गोरखपुरमा भेट्दा यिनीहरूको साझा शत्रु पञ्चायती व्यवस्था थियो, अहिले केपी ओली छन् । सशस्त्र संघर्षका बेला उतारचढावपूर्ण सम्बन्धमा रहेका दाहाल–भट्टराईको जोडी शान्ति प्रक्रियाका बेला खुब जमेको थियो, त्यतिखेर उनीहरू केही समय एउटै घरको तल्लो–माथिल्लो फ्ल्याटमा डेरा गरेर पनि बसे । समयक्रममा यी दुई एउटै पार्टीमा रहन सकेनन् ।

शनिबारको जमघटलाई भने दाहालले प्राविधिक घटनाका रूपमा मात्रै नबुझ्न अपिल गरेका छन् तर त्यसको अप्राविधिक पाटो भने दुवैले खोलेनन् ।kantipur

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार