हाम्रो माग पूरा गर्नेलाई नै सहयोग गर्छौं : महन्त ठाकुर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १४, शनिबार २०:१९ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

जनकपुर – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताएका हुन् ।

उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरूले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।

उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पूरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरू (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ?’, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पूरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’

नेता ठाकुरले आफूहरूले उठाएको माग सम्बोधनका लागि जसले सम्झौता गर्छ उसलाई सहयोग गर्ने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले आफूहरूको माग पूरा गरिदिने बताएको पनि जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो माग पूरा गर्छु भन्नु भएको छ । तर हामी लिखित रुपमा सम्झौता भयो भने मात्र विश्वास गर्छौं ।’

अहिलेको परिस्थितिप्रति कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर नभएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार