निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा चेकिङ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १९, आईतवार १४:३६ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

विराटनगर । विराटनगरमा जारी गरिएको निषेधाज्ञा पालना गराउन प्रहरीले आइतबार बिहानैबाट कडाइ गरेको छ ।

कोरोना संक्रमणदर उच्च रहेको विराटनगर महानगरपालिकालगायत आसपासका गाउँपालिकामा शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शुक्रबार निषेधाज्ञा जारी गरेका थिए ।

निषेधाज्ञामा कडाइ गर्न विराटनगरमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् ।

विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाको वडा नम्बर १, २, ३, र ४ मा निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विराटनगर प्रवेश गर्ने सडक, विराटनगर बजार क्षेत्र र भारतसँग सीमा जोडिएको क्षेत्रमा कडाइ गरिएको छ ।

अत्यावश्यक कामका लागि हिंडेकाहरुलाई भने जान दिइएको उनले बताए ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यान्न, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्नबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार