फेरिए ‘डाँकाबहुल’ गाउँ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २, बिहीबार ०८:३५ बजे
अनुमानित पढ्ने समय : 5 मिनेट
तस्विर : मधेश 24

धनुषा — जनगणनामा कुनै पनि जातजाति वा व्यक्तिले पेसा ‘चोरी’ लेखाउला ? धनुषाको अकौडा र झिझाका दुसाधहरूले भने पहिलो र दोस्रो जनगणनामा पेसा महलमा ‘चोरी’ लेखाएका थिए । लेखाउँदा दुई गाउँका दुसाधले लेखाए तर गणकले मुलुकभरका दुसाधको पेसा नै चोरी लेखिदिए ।

 

‘हो, झिझा अकौडाका दुसाधहरूले पेसा चोरी लेखाएका थिए तर गणकहरूले सिंगै मुलुकका दुसाधको पेसा चोरी लेखिदिएर हाम्रो जातिलाई अपमानित गरेका थिए,’ पासवान जातिका अगुवा तथा पूर्वविज्ञान, प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने, ‘पछि दुसाध अगुवाहरूले आन्दोलन गरेर त्यसलाई सच्याउन लगाएका थिए ।’

तीन दशकअघिसम्म झिझा, अकौडासँगै नरहिया र कपटौललगायत दुसाध बहुल गाउँका अधिकांशको पेसा नै चोरी–डकैती थियो । घरमा दुलो (सेंध) खनेर अन्न, भाँडावर्तन, लत्ताकपडा र गरगहना चोरी भएका घटनामा दोष दुसाधलाई दिइन्थ्यो । यस्ता चोरीमा संलग्नहरू आफूलाई पेसाप्रति संवेदनशील मान्थे । धर्मकर्मलाई उच्च महत्त्व दिन्थे । हुनेखानेको घरमा मात्र चोर्थे । महिलालाई सम्मान गर्थे । झिझाका कुञ्जा पासवानले स्थानीयको सुविधाका लागि आफ्नै खर्चमा पुलसमेत निर्माण गराएका थिए । ‘चोरी गर्नु कलाजस्तै थियो । घरका मानिसहरू जाग्राम भए पनि चोर्न सक्नु उनीहरूको विशेषता थियो,’ छिमेकी गाउँ बहुअर्वाका साहित्यकार नित्यानन्द मण्डल भन्छन् ।

धनुषा सदरमुकाम जनकपुरभन्दा ७ किमि पूर्वमा पर्ने नगराइन–८ साबिक देवडिहा–३ अकौडा नेपाल–भारत सीमाको गाउँ हो । यहाँ करिब २५० घरधुरी छन् । जसमध्ये करिब सय घर दुसाधका छन् । विदेह नगरपालिकाको झिझा पनि सीमानाका नजिकै छ । झिझामा पनि झन्डै सय घरधुरी दुसाधको बसोबास छ । नगरहिया र कपटौल गाउँपनि दुसाधबहुल गाउँ हुन् । ३ दशकअघिसम्म यी गाउँका पुरुषको मुख्य पेसा नै युवावस्थामा चोरी र प्रौढमा धानचामल र नगद दिएर गाउँ रखबारी (चौकीदारी) गर्नु हुन्थ्यो । दुसाधले रखबारी लिएको गाउँमा सामान्यतया चोरी–डकैती हुँदैनथ्यो ।

पञ्चायतकालमा स्थानीय प्रहरी प्रशासन अकौडा र झिझाका दुसाधलाई प्रयोग गरेर बहुदल समर्थकको हत्यासम्म गराएका घटना छन् । प्रवासमा रही लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएका कांग्रेस नेता सरोजप्रसाद कोइरालाको मधुवनीमा हत्या गर्दा झिझेली डाँका खटाइएका थिए । स्थानीयका अनुसार पञ्चायतकालका प्रशासकले डाँकाहरूलाई बन्दुक र गोलीसमेत उपलब्ध गराउँथे । उनीहरूलाई आफ्नो क्षेत्रमा चोरी गर्न भने निषेध थियो । वरिपरिका गाउँमा पनि चोरी गर्दैनथे । अकौडाका एक युवकले भने, ‘हाम्रो सरदार (प्रमुख) को पहुँच त्यसबेलाका एसपी, डीएसपी र अञ्चलाधीशहरूको बैठक कोठासम्मै हुन्थ्यो ।’

चोरी–डकैतीमा संलग्न हुँदा कमाइ हुने भए पनि उनीहरूको घरको अवस्था भने दयनीय नै थियो । बालबालिका पढ्न जाँदैनथे । गाउँमा एउटै पनि पक्की घर थिएन । कहिले प्रहरीको छापामारी त कहिले अन्य गाउँका हंसेरी (हातहतियारसहितका स्थानीय) को आक्रमणमा पर्थे । चोरी–डकैतीको आरोपमा विगतमा अकौडा गाउँका ३० जनाभन्दा धेरै युवकको नेपाल र भारतका विभिन्न स्थानमा हत्या भइसकेको छ भने नजिकका गाउँलेले दुसाध बस्ती नै जलाएर सखाप बनाएका घटना पनि छन् ।

स्थानीय प्रसादी पासवानका अनुसार भारतीय प्रहरीले अनेकौं निर्दोषलाई समेत हत्या गरेको थियो । अकौडा र झिझाका डाँकाहरूको त्रास नेपालको विराटनगरदेखि नेपालगन्जसम्म र भारतको सीमावर्ती गाउँ–नगरदेखि पटनासम्म थियो । २०४२ मा भारतीय प्रहरीको सहयोगमा सीमावर्ती इटहर्वा गाउँमा अकौडाका २ युवकको हत्या र २ लाई पक्राउ गरिएको थियो । बदलामा अकौडाका दुसाधले ४ भारतीयको टाउको काटेर सीमावर्ती हरलाखी थानाअगाडि फालिदिएका थिए । चोरी–डकैतीमा लागेकाहरूलाई सुधार्न तथा सामान्य जीवन बिताउन नेपाल सरकारले प्रयासै नगरेको भने होइन ।

२०४० तिर झिझेली डाँकाहरूलाई सर्लाहीको नयाँबस्तीमा घरजग्गा प्रदान गरेर पुनर्वास गराइएको थियो । पुनर्वासकै प्रलोभनमा अकौडाका दुसाधहरूलाई पनि आत्मसमर्पण गराइयो तर बहुदलीय व्यवस्था आएसँगै पुनर्वास योजना ठप्प भएको उनीहरूको आरोप छ । साबकि देवडिहा गाविसका उपप्रमुख रहिसकेका केवल पासवान भन्छन्, ‘पुनर्वासको लालचमा हामीले अञ्चलाधीशको रोहबरमा ४७ थान हातहतियार बुझायौं । सर्लाहीको सागरनाथ वन नजिक जग्गा पनि हेर्‍यौं तर आजसम्म पुनर्वास हुन सकेको छैन ।’ स्थानीय युवा अभियन्ता मोहन पासवान पुनर्वासका लागि सरकारले जग्गा उपलब्ध गराइसकेको भए पनि राजनीतिक छलछामका कारण हालसम्म उपलब्ध नभएको आरोप लगाउँछन् ।

उनका अनुसार २०४६ को राजनीतिक परिवर्तनपछि अकौडाका दुसाधहरूमा चेतना आएको हो । अकौडावासी यतिबेला शिक्षालाई उच्च प्राथमिकता दिन्छन् । दुसाधका छोराछोरी नियमित विद्यालय जान्छन् । युवाहरू सरकारी सेवामा पनि जागिरे हुन थालेका छन् । प्रहरी सेवा तथा वैदेशिक रोजगारीप्रति युवाहरूको आकर्षण बढ्दो छ । करिब अढाई हजार जनसंख्या रहेको पासवानहरूको बस्तीबाट ५० जनाभन्दा बढी वैदेशिक रोजगारीमा छन् । झन्डै ३० जना प्रहरी सेवामा छन् । केही शिक्षक र अमिन पेसामा पनि छन् । बाँकी खेतीपाती र मजदुरी गरेर जीवनयापन गर्दै छन् । बाबुबाजेले विगतमा के गरे भन्ने नयाँ पुस्तालाई निकै कम थाहा छ ।

पूर्वउपप्रधानपञ्च केवल पासवान नातिनीलाई १२ कक्षासम्मको शिक्षा दिलाएर विवाह गरिदिएको बताउँछन् । ‘पहिले त बेहुलालाई बोकेर बिहे गर्न लगिन्थ्यो तर अहिले बालिग भएपछि मात्र विवाह गर्ने गरिएको छ,’ उनले भने, ‘चेतनाको स्तर धेरै फेरिएको छ ।’ गाउँको बदलिँदो स्वरूप देखेर उनी खुसी छन् । ‘हाम्रा पुर्खाहरू वर्षौंसम्म चोर–पुलिसको खेल खेले, अबका पुस्ता साधु बनेर समाजमा गुमेको प्रतिष्ठा आर्जन गर्न खोज्दै छन्,’ उनले भने ।

केवलका अनुसार तीन दशकयता अकौडाका पासवानहरूको जीवनशैली, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थामा उल्लेख्य सुधार आएको छ । ‘पहिले चोरी–डकैती गरेर थुप्रै कमाइ हुन्थ्यो तर कसैको घरमा दह्रो छाना थिएन, गाउँमा एउटै पनि पक्की घर थिएन । अहिले मिहिनेत गर्न थालेपछि सबै मिठो मसिनो खान पाएका छन्,’ उनले भने, ‘राति मस्त निदाउन पाएका छन् । पक्की छाना पनि बनाउन थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार