बिनाअक्सिजन नै ३० फिट गहिरो इनारबाट लास निकाल्ने प्रहरी भुषाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २८, शनिबार ११:३० बजे
अनुमानित पढ्ने समय : 4 मिनेट
तस्विर : मधेश 24

मधेश24,कपिलवस्तु  ।  सुन्दा पनि आङ सिरिङ्ग हुनसक्छ तर आज कपिलवस्तुमा नेपाल प्रहरीका एक प्रहरी जवानले साँच्चै तालिममा देश र जनताको नाममा ज्यानको आहुती दिने सपथ लिएझैँ ज्यानको बाजि लगाएर ३० फिट गहिरो दलदलबाट मृत लास बाहिर निकालेका छन्।

आज दिउँसो ३:५० बजेतिर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जिल्लाकै पकडी बजारको नजिकै सेमरौटि भन्ने ठाउँमा बाटो छेउमा रहेको ३० फिट गहिरो दलदले इनारमा एउटा साईकल देखेपछि फोनमा खबर आयो। त्यसपछि नजिकको इलाका प्रहरी कार्यालय पकडिको इन्सपेक्टरको टोली साइकल खसेको इनार भएतिर लाग्यो। इन्सपेक्टरलाई साइकलमात्र नभई मान्छेपनि खसेको हुनसक्छ भन्ने लागेपछि उनले सो सूचना आफूमाथिका डिएसपी र एस पि नवराज अधिकारीलाई खबर गरे।

यता जिल्लाको प्रहरी टोली डिएसपी धर्मराज भण्डारीको कमाण्डमा सो घटनास्थलतर्फ लाग्यो। जिल्लाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय पकडीको प्रहरी टोली र सशस्त्र प्रहरी चाकरचौडाको टोली २५/३० जना र स्थानिय बासिन्दा ४५/५० जना गरि करिब ७० जना मान्छे जम्मा भए। इनारमा साइकल मात्र छ कि मान्छे पनि छ भन्ने अनुमान लगाउन त्यहाँ रहेका सबेेलाई हम्मेहम्मे भैसकेको थियो।

कालो, अध्यारो र गहिरो इनार ।केहिछिन त के कसरी जाने कसरी साइकल निकाल्ने र के गर्ने भन्ने अल्लमल्ल भइरह्यो। इनारमा को पिँधमा पो अक्सिजन छ छैन भन्ने चिन्ता भइरह्यो डिएसपी भण्डारीलाई । अनि उनले आफैँ तौलिहवामा रहेको जिल्ला अस्पताल र जिल्लाको पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकामा यस्तो अवस्थामा उद्दार टोलि खटिँदा लगाउने सामग्री छन् कि भन्ने बुझे तर कहिँबाट केही उपाय लागेन।

त्यतिञ्जेल सम्ममा पम्पसेटले इनारको पानी निकालिसकिएको थियो । अब त्यहाँ रहेको साइकल र हुनसक्ने लासलाई प्रहरी टोलीले लाइटको साहाराले नियाल्दै थिए । तल दलदलमा मान्छेको टाउको जस्तो चिज देखियो अनि फेरी प्रहरीले ध्यान दिएर हेर्यो र ठाडो अवस्थामा लास रहेको लगभग पक्कापक्कि गर्यो।

त्यतिबेलासम्मा गहिराइ पनि थाहा नहुँदा के कसरी गर्ने भन्ने नै भएन । यसै पठाउँ भित्र अक्सिजन नभए आफ्नै सिपाहिको ज्यानको खतरा, नपठाउँ कपिलवस्तु जिल्लाभर कहिँकतै न अक्सिजनसहितका उपकरण न सामान नै, त्यसमाथि लास उठाउनै पर्ने कानुनी बाध्यता।

केहिछिनपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट १ थान डोरी र २ वटा लाइफ ज्याकेट आइपुग्यो। तर सामान भएर मात्र हुन्न रहेछ, काम गर्नको लागि आँट चाहिँदो रहेछ। केहीछिन पछि उहीँ आफैले गाडी चलाएर प्रहरी टोली लिएर गएका ड्राइभर प्रहरी जवान कृष्ण प्रसाद भुषालले आँट देखाए डोरी समाए र आफ्ना कमाण्डर हुँदै डिएसपी भण्डारीलाई भने ‘सर म जान्छु’ ।

त्यसपछि त्यहि सेतो डोरी माथि इनारका दुई पट्टि काठको बलोमा अलिकति र बाँकि आफ्नो कम्मरमा बाँधेर ३० फिट गहिरो दलदलयुक्त ईनारतिर प्रहरी वर्दीमै लागे उनै चालक जवान कृष्णप्रसाद भुषाल । जति तल जाँदै गए शरिरबाट चिटचिट पसिना आउन थाल्यो। त्यति हुँदाहुँदै साइकललाई डोरीले बाँधेर निकाले अनि लागे अझ तलतिर टाउको देखिएतिर।

जति तल जाँदै गरे उत उति शरिर असन्तुलन भएजस्तो शरिरमा केही नपुगेजस्तो महसुस गर्दागर्दै लास खोर्सिदै डोरीले बाध्न थाले। डोरीले बाँधिसकेपछि लासलाई माथि भएका अरु साथिले तानिसकेपछि पनि तलै रहेका भुषाललाई मनमा हल्का चिसो पस्यो। अनि उनी पनि बिस्तारै बाहिर तानिए। बाहिर तानिएपछि आफू एउटा मृत लासलाई ल्याउन पाएकोमा उनी दुखि नै देखिन्थे र भने अझ ज्यँदै बचाउन पाएको भएदेखी खुब आशिष मिल्थ्यो होला मलाई।

उहिँ वेवारिशे लाश हिजो मात्रै आफ्नै दिदीको घरमा १३ औँ दिनको पुण्य तिथिमा आएका ३५ वर्षका भरत कोरी रहेको खुलेपछि भुषाल झन भावविह्ल भए। उनले एउटा काठको बलोका भरमा ज्यान जोखिममा हालि प्रहरी कार्य सम्पन्न गरेकोमा डिएसपी भण्डारीले ‘ल उत्कृष्ट काम गर्यौ भुषाल’ भनि हात मिलाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार